• २९ फागुन २०८२, शुक्रबार

परिश्रम गर्ने संस्कार बढाउनु पर्छ

blog

सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) को यात्रा अब सङ्घीय संसद्तिर मोडिएको छ । 

सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उहाँको राजनीतिक यात्रा राष्ट्रिय राजनीतितिर अगाडि बढेको हो । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगरप्रमुखमा पहिलो पटक स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभयो । नगरप्रमुखको जिम्मेवारी समालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान सञ्चालन गर्नुभयो । उहाँकै प्रत्यक्ष संलग्नतामा धरान–२० स्थित कोकाहाखोलाबाट खानेपानी ल्याउने ९८ दिनको अभियान सफल भएपछि उहाँप्रति स्थानीयको विश्वास थप बढ्न पुग्यो । 

गत भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्यले नयाँ मोड लिएसँगै राईले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी स्थापना गर्नुभयो । युवाको आन्दोलनले राजनीतिक सुधारको आवश्यकता माग गरेको भन्दै त्यसको प्रतीकका रूपमा आफ्नो पार्टी उदाएको उहाँको भनाइ छ । प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उहाँले धरान नगरप्रमुख पदबाट राजीनामा दिएर सुनसरी–१ बाट उम्मेदवार बन्नुभयो । उहाँ भन्नुहुन्छ, “हाम्रो पार्टीको राजनीतिक विचारधारा ‘हर्कवाद’ हो । जुन श्रम संस्कृतिमा केन्द्रित छ । जसले आत्मनिर्भरता, श्रमको मर्यादा र वैदेशिक परनिर्भरताको अन्त्यको वकालत गर्दछ ।” 

निर्वाचन परिणाम अनुसार उहाँ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ आफू मात्रै विजयी हुनु भएन श्रम संस्कृति पार्टी स्थापना गरेको चार महिनामै प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टी बनाउन सफल हुनुभयो । निर्वाचनमा विजयी भएपछि राईले लोकतन्त्रमा कोही पनि नहार्ने बताउँदै सबै मतदाता र उम्मेदवारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीले सरकार चलाउने म्यान्डेट पाएको छैन । जनताले प्रतिपक्षमा बसेर गरिब, दुःखी र श्रमिक वर्गको आवाज उठाउन मत दिएका छन् । त्यसैले हामी प्रतिपक्षमा रहेर निरन्तर जनताको आवाज उठाउँछौँ ।”

राई आफ्ना समर्थकलाई व्यक्तिप्रति नभई विचारप्रति जोडिन आग्रह गर्नुहुन्छ । चुनावअघि नैै दार्चुलामा तुइनको सट्टामा झोलुङ्गे पुल निर्माण गर्ने आफ्नो सामाजिक सञ्जालमार्फत १० रुपियाँदेखिमाथि जति पनि सहयोग गर्न सक्ने सबैलाई आग्रह गर्नुभयो । निर्वाचनपछि उहाँले भन्नुभयो, “दार्चुलामा पुलका लागि भौगोलिक, प्राविधिक स्थितिका लागि मानिस पठाइसकेको छु । सबै काम भएपछि श्रमदाताको सहयोगमा काम सुरु हुन्छ । त्यहाँ बाटो राम्रो नभएकाले मेसिनरी सामानको अभाव हुन्छ, त्यसैले गिट्टी कुट्ने, जग खन्नेलगायतका काम बेल्चा, गैँती, खन्तीलगायतका औजारबाट श्रमदाताले नै गर्नु पर्छ ।” उहाँ युवामा परिश्रम गर्ने संस्कार बढाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले आफू सिंहदरबारको कुर्सी मात्र नहेरी दार्चुला जस्तो गाउँठाउँ पनि हेर्ने र विकासका लागि संसद्मा आवाज उठाइरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

लाहुरे परिवारमा जन्मनुभएका राईका पिता तिलविव्रmम राई र माता जयमाया राई हुनुहुन्छ । राईले खोटाङको कोपिलासगढी गाउँपालिका खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झर्नुभएको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । २०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तारका व्रmममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितसँग मिलेर आन्दोलन सञ्चालन गर्नुभएको थियो । सोही आन्दोलनपछि उहाँ सामाजिक अभियन्ताका रूपमा चिनिन थाल्नुभएको हो ।

श्रमदान अभियान र जनसहभागितामूलक विकासका कार्य नै यस दलको स्थापनाको मुख्य प्रेरणा बनेको छ । पार्टीले जय माटो, जय श्रमदानको नाराका साथ निर्वाचनमा भाग लिएको थियो । यसको अभियान अन्य दलको तुलनामा फरक र श्रमदानमा आधारित रहेको छ । राजनीतिक दल र नेतृत्वप्रति प्रश्न उठाउने उहाँको शैलीका कारण पनि उहाँ चर्चामा रहनुभयो । सार्वजनिक स्थानमै उभिएर उहाँले पटक पटक दलको सिद्धान्त, नेतृत्वको उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै आउनुभएको थियो ।

प्रस्तुति : निशा राई