बुलबुले समाचारदाता
सुर्खेत, फागुन २९ गते । इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्ट र पीडकको बयानपछि प्रहरी इनिसाको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो । इनिसाको जबरजस्ती करणीपछि पाठेघर च्यातिएको र अत्यधिक रक्तस्राबपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका तीन चिकित्सकसहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ । रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको देखिएको डा. शाक्यले बताउनुभयो । पाठेघरसम्म घाउको धब्बा देखिएको छ ।
प्रहरीका अनुसार हालसम्म परिवारले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ ।
सिआइबीले थप अनुसन्धान गर्ने
इनिसा विक हत्याको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गर्ने भएको छ । सामूहिक बलात्कारपछि हत्या भएकी १६ वर्षीय इनिसा विकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सुर्खेत आउने भएको छ । सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेर सिआइबीसँग सहयोग मागेको जनाएको हो । सिआइबीको टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजङ्ग बुढथापाले बताउनुभयो । सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सिआइबीसँग सहयोग मागेको थियो । शुक्रबारदेखि सिआइबीको टोलीले थप अनुसन्धान गर्ने छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली सुर्खेत आउन लागेको उहाँले जानकारी दिनुभयो । घटनाको सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको भन्दै थप अनुसन्धानका लागि विज्ञ टोली आउन लागेको उहाँले बताउनुभयो ।
फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान समूह बनाएर काम गरिरहेको छ । जिल्लाको अनुसन्धान टिमसँग कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने टोलीले पनि काम गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ, कल डिटेल्सलगायत किशोर र किशोरीबिच भएका सम्पूर्ण विद्युतीय प्रमाण प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी बुढथापाले बताउनुभयो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएर वीरेन्द्रनगर–१ बस्ने इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिद पार्कनजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै मृतकका आफन्तहरूले सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिनुभयो । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।