• २९ फागुन २०८२, शुक्रबार

लिमीका मतदाता कामका लागि ताक्लाकोट फिर्ता

blog

लिमीबाट हिल्सा हुँदै ताक्लाकोटतर्फ फर्कँदै गरेका स्थानीय। तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, फागुन २९ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न चीनको ताक्लाकोटबाट आएका नाम्खा गाउँपालिका–६ लिमीका मतदाता मतदान सकिएपछि पुनः कामका लागि ताक्लाकोट फर्किएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा मतदान गर्न ताक्लाकोटबाट लिमीका तील, हल्जी र जाङ गाउँका मतदाता गाउँ फर्किएका थिए। मतदान कार्य सम्पन्न भएपछि उनीहरू चीनको हिल्सा नाका हुँदै ताक्लाकोटतर्फ फर्किएको तील गाउँका स्थानीय छिमेल लामाले जानकारी दिनुभयो। उहाँका अनुसार तील गाउँबाट मात्र १४ जना मतदाता फर्किएका छन्।

परिवारसहित ताक्लाकोट जाँदै गरेका लामाले मतदानका लागि बिदा लिएर लिमी आएको र अब पुनः रोजगारीका लागि फर्किएको बताउनुभयो। त्यसैगरी हल्जी गाउँबाट पनि १७ जना मतदाता मतदान गरी आफन्तसँग भेटघाट गरेपछि ताक्लाकोट फर्किएको सो गाउँका कुगा तामाङले बताउनुभयो।

यस्तै जाङ गाउँबाट २९ जना ताक्लाकोट फर्किएको स्थानीय कुन्जोक तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार सो गाउँका धेरैजसो स्थानीय ताक्लाकोटमा व्यापार गर्छन् भने केहीले विभिन्न कामसमेत गर्ने गरेका छन्।

लिमीका स्थानीयहरू सीमापासको आधारमा चीनको ताक्लाकोटमा बस्दै आएका छन्। नेपाल–चीन सीमास्थित हिल्साबाट करिब ३० किलोमिटर टाढा रहेको ताक्लाकोटमा बस्न चीन सरकारले अनुमति दिने गरेको छ। उक्त सीमापास प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ।

लिमीबाट हिल्सा पुग्न एक दिन पैदल हिँड्नुपर्छ भने हिल्साबाट ताक्लाकोटसम्म चिनियाँ सवारी साधन प्रयोग गरी यात्रा गर्न सकिन्छ। ताक्लाकोटमा नेपालीहरूले मुख्यतः विकास निर्माण, खेतीपाती, पशुपालनलगायतका काम गर्ने गर्छन् भने केहीले व्यापार व्यवसाय र होटल सञ्चालनसमेत गर्दै आएका छन्। त्यहाँ नेपालीहरूले दैनिक १५० देखि २५० युआनसम्म आम्दानी गर्ने गरेका छन्।