रामकृष्ण बोहरा
बागलुङ, फागुन २९ गते । अदालत चौपारीदेखि गौंडाकोट, तित्याङ हुँदै भकुण्डे–रायडाँडा हुँदै बरेङ शान्तिपुर जोड्ने रणनीतिक सडकको ४० प्रतिशत काम सकिएको छ ।
दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्नेगरी २०८० चैतमा सम्झौता गरेर बिडारी तुँदी संयुक्त निर्माण कम्पनीले काम थालेको थियो । सडक निर्माणको समय सकिन एक महिना बाँकी रहँदा बाहिरी कटिङको काम समेत सकिएको छैन । समयमै काम नसकिँदा १५ किमीको भकुण्डे र २० किमीको रायडाँडा पुग्न स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एशियाली विकास बैंकको २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको हो । ठेक्का लगाएको डेढ वर्षसम्म सडकको काम नभएपछि नेपाल सरकारले कन्सल्ट्यान्ट पठाएको थियो । कन्सल्ट्यान्टको प्राविधिक सहयोगमा कामले गति लिएपनि तोकेको समयमा ४० प्रतिशत मात्रै काम भएको हो ।
२०५७ मा अदालत चौपारीदेखि गौंडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्ने सडकको ट्रयाक खुलेको थियो । सुरुवातमा सिगाना हुँदै तित्याङको कमलडाँडाबाट सुरुवातको ट्रयाक खुल्यो । २०५८ मा छोटो रुटको ट्रयाक खुलेपछि पनि कामले गति लिन सकेको थिएन ।
‘‘समयमा काम नहुँदा ग्रामीण क्षेत्रका जनताले दुःख पाएका छन्’’ बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भन्नुभयो । सडक सास्तीले उपभोग्य सामग्री ढुवानी र बिरामीले उपचारका लागि अस्पताल आजउजाउमा दुःख पाएका छन् । सडक स्तरीय नबन्दा भकुण्डे र रायडाँडावासी बसाइँ सरेर सहर झरेको उहाँको भनाइ छ ।
यो सडकको ५ देखि ६ किमी खण्डमा मात्रै नालीको काम भइरहेको छ । कालोपत्र गरिसक्ने समयमा मापदण्ड अनुसार सडक चौडा बनाउने काम नभएको भकुण्डेका याम थापाले गुनासो गर्नुभयो । ‘‘कालोपत्र सम्पन्न भएर सरर गाडी चल्नुपर्ने बेलामा सडक खन्ने काम चल्दैछ’’ थापाले भन्नुभयो, ‘‘समयमै काम नसकिँदा जोखिमपूर्ण यात्रा गर्न विवश छौं ।’’
बागलुङ नगरपालिकाले रायडाँडालाई विशेष क्षेत्रमा राखेर सामाजिक विकासका कार्यत्रमलाई जोडेको छ । तर, भौतिक विकासतर्फ सडककै सास्ती भएकोले अन्य सेवा प्रवाहमा पनि असर परेको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतम बताउनुहुन्छ । वडा जोड्ने सडक स्तरीय नबनेपछि राम्रो गरेपनि नतिजा नआएको गौतमको बुझाइ छ ।
निर्माण कम्पनीले तित्याङ र भकुण्डेको केही स्थानमा ग्याबिन बुन्ने र पर्खाल लगाउने काम गरेपनि नाली निर्माण गरिसकेको छैन । कन्सल्ट्यान्ट कम्पनीका इन्जिनियर पुरुषोत्तम गौतमले आगामी असारसम्म १५ किमी सडकको नाली र ग्याबिन बन्ने दाबी गर्नुभयो । अदालत चौपारीदेखि भकुण्डेसम्मको सडक सम्पन्न भएलगत्तै रायडाँडादेखि दमेक, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडकमा दोस्रो चरणको ठेक्का लगाउने सरकारी तयारी छ ।