प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २९ गते । सल्यानबाट प्रतिनिधि सभामा पहिलो पटक नवनिर्वाचित सांसद रमेश मल्लले जिल्लाको विकासका लागि सडक तथा आधारभूत पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । जनताले देखाएको भरोसा र आशाअनुरूप काम गर्ने जिम्मेवारी अब काँधमा आएको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकासका लागि यहाँ क्रियाशील राजनीतिक दल तथा सरोकारवालासँग सहकार्य गर्दै प्राथमिकता निर्धारण गर्ने स्पष्ट पार्नुभयो । विकासका काम प्रभावकारी बनाउन सर्वपक्षीय सहकार्य आवश्यक रहेकाले सबै राजनीतिक दल र सरोकारवालालाई एकै ठाउँमा राखेर जिल्लाको विकासका प्राथमिकता तय गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँले यसरी काम गर्दा विकासका योजनामा सहकार्य बढ्ने र निर्णय कार्यान्वयन पनि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
सांसद मल्लले भन्नुभयो, “सडक, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने छु । समुदायसँग प्रत्यक्ष सम्पर्क राख्दै जनताको सुझाव र आवश्यकतालाई नीति तथा कार्यक्रम निर्माणमा समेटेर अगाडि बढ्छु । लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा स्वाभाविक हुने भएकाले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारले जनताको सम्मानजनक मत प्राप्त गर्नुभएको छ । मलाई मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दछु ।” उहाँले निर्वाचन प्रक्रियामा सहभागी सबै मतदाताप्रति सधैँ मेरो उच्च सम्मान व्यक्त गर्दै लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाबाट आएको परिणाम नै जनताको अभिमत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको सौन्दर्य यही प्रक्रियामा रहेको छ । संसद्मा मेरो पार्टीको उपस्थिति कमजोर भए पनि जनताको आवाजलाई बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सरकारमा भए पनि प्रतिपक्षमा रहे पनि जनप्रतिनिधिको प्रमुख दायित्व जनताको आवाज उठाउनु नै हो । सरकारमा हुँदा आफ्नै नेतृत्वमा काम गर्न सकिन्छ भने सरकारमा नभए पनि जनतालाई साथमा लिएर दबाब सिर्जना गर्न सकिन्छ । म जनताको कुरा प्रभावकारी रूपमा सरकारसम्म पु¥याउने वातावरण सिर्जना गर्ने छु ।”
उहाँले जिल्लाको विकासका लागि सडक सुधारलाई विशेष प्राथमिकता दिने उल्लेख गर्दै राप्ती लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई आधुनिक सडकका रूपमा विकास गर्ने बताउनुभयो । उहाँले सडकको स्तरोन्नतिले यातायात सहज बन्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहयोग पुग्ने बताउनुभयो । यससँगै स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली र सञ्चार जस्ता आधारभूत सेवाको विस्तार र सुधारमा पनि ध्यान दिइने उहाँको भनाइ छ । सांसद मल्लले जिल्लाका विभिन्न पालिकामा निर्माण भइरहेका अस्पताल तथा स्वास्थ्य चौकीको काम छिटो अघि बढाउन तीनै तहका सरकारसँग समन्वय र सहकार्यको वातावरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विद्यालय र सामुदायिक शिक्षा कार्यक्रममा लगानी बढाउने, बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने र युवालाई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रोत्साहित गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।