सर्लाही समाचारदाता
सर्लाही, फागुन १८ गते । गोलभेँडाको भाउ एक्कासि खस्किएपछि सर्लाहीका किसान मारमा परेका छन् । घाम चर्किएर गर्मी बढेसँगै किसानको खेतमा लगाइएको सबै जसो गोलभेँडा एकै पटक पाकेर बजारमा अत्यधिक भित्रन थालेपछि मूल्य ह्वात्तै घटेको हो । अत्यधिक उत्पादन हुँदा गोलभेँडा बिक्री हुन छाडेको किसानले गुनासो गरेका छन् ।
किसानले बजारमा ल्याएको गोलभेँडा व्यापारीले प्रतिकेजी १० देखि १५ रुपियाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । एक साताअघिसम्म गोलभेँडा प्रतिकेजी ३० देखि ४० रुपियाँसम्ममा बिक्री भएको थियो ।
लालबन्दी बजारका थोक तरकारी व्यापारी मोहम्मद उस्मानले चार/पाँच दिनदेखि बजारमा अत्यधिक मात्रामा पाकेको गोलभेँडा भित्रिरहेको जानकारी दिनुभयो । यस वर्ष सुरुमा गोलभेँडा उत्पादन गर्ने किसानले भने राम्रो मूल्य पाए । पुस/माघमा गोलभेँडा फलाएका किसानले प्रतिकिलो ७०/८० रुपियाँसम्म पनि मूल्य लिएका थिए । अहिले भने एकै पटक पाकेर फालाफाल भएपछि गोलभेँडाको मूल्य निरन्तर घट्दै गइरहेको हो ।
अहिलेको मूल्यमा गोलभेँडा बिक्री गर्दा टिप्नका लागि लगाइएको कामदारको खर्चसमेत उठ्न मुस्किल पर्ने भएपछि केही किसानले खेतमै कुहिएर जान दिएका छन् । गोलभेँडा पाकेपछि तत्काल नबेचे खेतमै नष्ट भएर जाने भएकाले हरेक वर्ष यो समस्या आउने गरेको किसानले गुनासो गरेका छन् ।
पाकेको गोलभेँडा भण्डारण गरेर राख्ने चिस्यान केन्द्रको स्थापना र सस बनाउने उद्योग स्थापना गर्ने मुद्दा लामो समयदेखि उठ्दै आएको भए पनि अहिलेसम्म चिस्यान केन्द्र र सस बनाउने उद्योग स्थापना नहुँदा गोलभेँडाले मूल्य नपाउने र खेतमै नष्ट भएर जाने समस्या रहेको लालबन्दी नगरपालिका–११, हिरापुरका सञ्जीवकुमार महतोले बताउनुभयो । उहाँले अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका र चुनावपछि निर्वाचित हुने सदस्यलाई यहाँको किसानको प्रमुख मागका रूपमा रहेको चिस्यान केन्द्र र सस बनाउने उद्योग बनाउनेतर्फ पहल गर्न आग्रह गर्नुभएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक गोलभेँडा खेती हुने गरेको छ । विशेष गरी उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकामा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादन भएको गोलभेँडा काठमाडौँ उपत्यकासहित जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढलगायत ठाउँमा खपत हुने गरेको छ ।