• १८ फागुन २०८२, सोमबार

गाउँ सुनसान भएकोप्रति चिन्ता

blog

खैरहनी (चितवन), फागुन १८ गते ।  थारू समुदाय चितवनको मात्र हैन, नेपालकै आदिवासीमध्येको एक समुदाय मानिन्छ । आधुनिकताले छोएसँगै गाउँघरको निमेक छाडेर बिदेसिने लहर चलेपछि अचेल थारूगाउँमा युवाको जमघट निकै कम छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदाताले आफ्ना छोराछोरीलाई स्वदेशमै काम गरेर सँगै बस्ने वातावरण बनाइदिन भोट माग्न आउने नेताहरूसँग भन्न थालेका छन् । 

चितवन क्षेत्र नं. १ मा यतिखेर प्रमुख प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी, नेकपा (एमाले) का दावादोर्जे लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल चुनावी प्रचारमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा र नेकपाका गणेशबहादुर श्रेष्ठ पनि उहाँहरूलाई पछ्याउँदै मत माग्दै हुनुहुन्छ । विगतका त्रुटि सच्याउँदै जाने पुराना दलका नेताहरूले मतदातामाझ प्रतिबद्धता जनाउने गर्नुभएको छ । नयाँ दलका नेताहरूले भने सबै कुरा नयाँ ढङ्गले शासनप्रणालीमा लागु गर्ने आश्वासन दिइरहनुभएको छ । दलीय सिद्धान्तको आस्थासँगै भावी पुस्ताको भविष्यको चिन्ता भने थारू मतदातामा स्पष्ट देखिन्छ । खैरहनी, चलौलीका ७८ वर्षीय जितन महतो दुःखबिमार आइपर्दा बोकेर अस्पताल लैजाने छोरानातिको अभाव गाउँमा खट्किन थालेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “राणा शासनपछि पञ्चायतभन्दा बहुदल राम्रो होला कि भनेर हेरियो, त्यसपछि गणतन्त्र पनि हेरियो तर झन् राम्रो होला भनेको त गाउँघर सुनसान पो हुन थाल्यो ।”

खेतबारी बाँझै नहोस् भनेर महँगोमा मधेश र सीमापारका मजदुर काम गर्न बोलाउन थालेको १० वर्ष बित्न थालिसकेको उहाँको गुनासो छ । पालिका होस् वा जिल्ला, जतासुकै काम गर्न भनसुन चाहिने जमानाले वाक्कदिक्क बनाएको उहाँ सुनाउनुहुन्छ । 

थारू समुदायकै पक्षपोषण गर्दै पहाडी मतदाता खैरहनीकै सुशीला गिरी थप्नुहुन्छ, “अनुदानको मल होस् वा बिउ, सजिलोसँग केही पाइन्न । लाम लागेर बस्दा पनि धानमा हाल्ने युरियाको दोब्बर मूल्य तिर्नुपर्ने दिन आएको छ । घरमा पढेलेखेका छोराछोरी बेरोजगार भएपछि बिदेसै जान्छु भन्छन्, खेती गरेर खाऊँ भन्दा किसानको पीडा बुझ्ने नेता अहिलेसम्म कोही आएनन् ।”बिदेसिएर फर्किएका खेलकुमार चौधरी पनि युवाका लागि गाउँ खुट्टा कुँजो बनाउने थलो बनेको टिप्पणी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही कुरा सही ढङ्गले हुनै छाड्यो । शिक्षा, स्वास्थ्य सबैमा भ्रष्टाचार बढेको छ । जागिर पाउन पनि पैसा तिर्नु पर्छ, अनि हामी विदेश नगए के गर्ने ?”

जेनजी आन्दोलनमा देखिएका दृश्यले आफूहरूको मन पुराना दलहरूप्रति भाँचिएको नसिब चौधरी बताउनुहुन्छ । साथीहरू जस्तै विदेश जाने तयारी थाल्नुपर्दा दुःख लाग्ने उहाँले सुनाउनुभयो । कतारमा काम गर्नुहुने सुकमान चौधरी चुनावको आसपास नै कतार फर्कने टिकट छ । उहाँले भन्नुभयो, “५० डिग्री सेन्टिग्रेडमाथिको तातो घाममा तरर पसिना चुहाउँदै काम गर्नुपर्दा म रोएको छु, छोरा मान्छेले रुन हुन्न भन्छन् तर घर सम्झेर कति रोएँ कति, त्यो नेताहरूले देख्दैनन् ।” 

“एउटा ‘सिस्टम’ मा देशलाई ढालिदिएको भए खाडीमा हैन, देशमै हाम्रो मेहनत फुल्थ्यो । चलौलीमा थारू समुदायका एक सयभन्दा बढी घर छन् । सबैका घरबाट कोही न कोही विदेशमै छन्,” उहाँले भन्नुभयो । खैरहनीकै सुल्तानाका बलिराम चौतारिया निर्वाचनमा भोट दिने बाध्यताबाहेक अरू उपलब्धि नभएको दुःखेसो गर्नुहुन्छ । किसानलाई मलबिउ र सुविधा दिने नेता जिताउने मन उहाँलाई छ । छोरानातिले भने नेताले काम गर्न नसकेको भनेर गनगन गर्न थालेको बताउनुभयो । 

अर्को थारू गाउँ जन्कौलीकी नीता चौधरीका एक छोरा र छोरी दुवै कमाउन विदेश पुगेका छन् । मुसुरोको दाल झार्दै उहाँले भन्नुभयो, “बुढाबुढी बिरामी पर्दा अस्पताल लैजाने कोही हुन्नन् । हाम्रो मात्र हैन, गाउँकै अवस्था यस्तै छ ।” गाउँमै बिहे गरिदिएको कान्छी छोरी सन्जु चौधरीको पनि श्रीमान् विदेशमै छन् । उहाँले पीडा पोख्नुभयो, “सानो बच्चा छ, आमाबाबु, सासूससुरा सबै एक्लै हेर्नु पर्छ । कहिलेकाहीँ त अत्यास लागेर आउँछ, भोट हालेका नेताले बुझ्लान भन्ने लाग्दैन ।”

बछ्यौलीमा पनि थारू समुदायको ठुलो बाहुल्य छ । गाउँघरको रौनक अचेल निर्वाचनमा भन्दा आफ्नो दुनो सोझ्याउन स्थानीय लागिपरेका छन् । पहिले जस्तो निर्वाचनका बेला नेताहरूका पछि दगुुर्ने युवाको जमात नरहेको निशा चौधरी बताउनुहुन्छ । चुनाव नजिकिएसँगै नेताहरू घरमा भोट माग्न आइरहेका छन् । युवा विदेश छन् । महिला तथा बुढाबुढी तोरी र अन्नपात स्याहार्न मजदुरसँगै खेतबारीमै भेटिन्छन् ।