केशव राज भट्ट
वाशुलिङ (बैतडी), फागुन १८ गते । बैतडीका गाउँघर तथा बजार क्षेत्रमा यतिबेला होली पर्वको उल्लास छाएको छ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो। दशरथचन्द नगरपालिका–४ का ज्येष्ठ नागरिक तथा शिक्षक दत्तराम पाण्डेयका अनुसार विगतमा होली मौलिक शैलीमा मनाइन्थ्यो। पहिले गाउँभरिका मानिस भेला भएर देवीदेवताका गाथा झ्यारेभाकामा गाउँदै होली खेल्ने चलन थियो।
दाल–चामल संकलन गरी सामूहिक रूपमा पकाएर बाँडीचुँडी खाने परम्परासमेत थियो। “अहिले डिजे र ठूला स्पिकरले गाउँ नै गुञ्जिने अवस्था छ, पुरानो पुस्ताले खेलेको मौलिक होली हराउँदै गएको छ,” उहाँले भन्नुभयो।
युवा पुस्ताले भने आधुनिक शैलीलाई समयअनुकूल परिवर्तनका रूपमा लिएको छ। दोगडाकेदार गाउँपालिका–३ का उमेश जोशीका अनुसार वर्षमा एकपटक आउने यस पर्वमा डिजे, मादल र माइकसहित बिहानदेखि अबेर रातिसम्म रमाइलो गर्ने चलन बढेको छ। संकलित रकम सामाजिक तथा धार्मिक कार्यमा खर्च गरिने गरिएको उहाँले बताउनुभयो।
पाटन नगरपालिका–९ का नरेन्द्र मयालु भट्टका अनुसार विभिन्न युवा क्लब, बाल क्लब, विद्यालय र मन्दिर समितिले पनि होली कार्यक्रम आयोजना गर्दै संकलित रकमको केही भाग सामाजिक कार्यमा लगाउने गरेका छन्।
होली पर्वको धार्मिक महत्त्व प्राचीन कथासँग जोडिएको छ। असुर हिरण्यकशिपुकी बहिनी होलिकाको दहन र भक्त प्रह्लादको संरक्षणसँग सम्बन्धित कथा यस पर्वसँग गाँसिएको छ। नयाँ बाली देवतामा चढाउने परम्परासमेत यससँग जोडिएको छ। भगवान् कृष्णले रङ खेल्ने परम्परा सुरु गरेको जनविश्वासका कारण यसलाई ‘वसन्त उत्सव’ वा ‘फागु’ पनि भनिन्छ।
पहिले पलाँसका फूलबाट प्राकृतिक रङ तयार पारिने गरिन्थ्यो। अहिले रासायनिक रङको प्रयोग बढ्दै जाँदा छालासम्बन्धी समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्। पूर्णिमाका दिन रङीचङ्गी चीर दहन गरी सामूहिक रूपमा होली मनाउने परम्परा अझै कायम छ।
समयसँगै होली मनाउने शैली फेरिए पनि यस पर्वले आपसी सद्भाव, एकता र खुसी साटासाट गर्ने सन्देश भने निरन्तर दिइरहेको छ।