• १८ फागुन २०८२, सोमबार

निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार

blog

नेपालगन्जबाट सिमकोट विमानस्थलमा अवतरण गरेको जहाज र यात्रुहरू। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन १८ गते ।
नेपालगन्जबाट हुम्लाको सदरमुकाम सिमकोट जाने हवाई भाडा निर्वाचनको बेला १४ हजार पुगेको छ। यात्रु चाप बढ्नु र सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुनुका कारण निजी एयरलाइनहरूले भाडा वृद्धि गरेका हुन्।

आइतबार नेपालगन्जबाट सिमकोट आइपुग्नु भएका यात्रु सोनाम तामाङले टिकट भाडा आफैले १४ हजार तिरेको बताउनुभयो। चार दिन नेपालगन्जमा बस्नु परेको र अन्ततः चार्टर उडानको टिकट पाएर हुम्ला आउन सक्नुभएको उहाँले जानकारी दिनुभयो। उहाँले बताउनुभयो, आफ्नो समूहका १४ जना सबै यात्रुले १४–१४ हजार रुपियाँ टिकट भाडा तिरेका छन्।

नेपालगन्ज–सिमकोट यात्रा जहाज अनुसार करिब ४०–४५ मिनेटमा पूरा हुन्छ। यसअघि निजी एयरलाइनहरूले हप्तामा एक दिन सेड्युल उडान भर्ने गर्दा टिकट भाडा करिब नौ हजार रुपियाँ थियो। तर निर्वाचन नजिकिएपछि यात्रु चाप बढेपछि यी एयरलाइनहरूले सेड्युल उडान बन्द गरी चार्टर उडान मात्र भर्ने गरेका छन्। सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुने भएकाले चार्टर उडान भर्नुपर्ने बाध्यता रहेको एयरलाइनहरूले जनाएका छन्।

सेड्युल उडानमा इन्धनको मूल्य समायोजन गर्न नसकिने भएकाले निजी एयरलाइनहरूले चार्टर उडानको भाडा लिन बाध्य भएको जनाएका छन्। भाडा यति धेरै भए तापनि एयरलाइनहरूले दिनमा एउटा मात्रै उडान दिने गरेका छन्। सिता, समिट र तारा एयरले दिनको पालो मिलाएर उडान भर्ने गर्छन्। मतदानका लागि हुम्ला आउने यात्रु धेरै भए पनि चार्टर उडान भर्न एयरलाइनहरूले पूर्ण रूपमा सहज नमान्ने यात्रुहरूको गुनासो छ।