• १८ फागुन २०८२, सोमबार

होलीले राष्ट्रिय शक्ति एकताबद्ध गर्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की

खेमराज सापकोटा 
मोरङ, फागुन १८ गते ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।

होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वर्तमान जटिल राजनीतिक अवस्थालाई चिर्दै राष्ट्रिय शक्तिलाई एकीकृत गरेर मुलुकलाई सही निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्न ऊर्जा दिने उल्लेख गर्दै उहाँले भ्रम र निराशा छरेर समाजलाई विभाजित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्न पनि यस पर्वले प्रेरणा दिने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफ्नो विवेक, बुद्धि र क्षमताको सही प्रयोग गर्दै राष्ट्र निर्माणको साझा लक्ष्य पूरा गर्न सबै नेपाली अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा पूरा गर्न होली पर्वले सकारात्मक ऊर्जा, उत्साह र प्रेरणा जगाउने उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले नेपालीहरूको मौलिक परम्परा, संस्कृति र पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाएको चर्चा गर्नुभएको छ । कोशी प्रदेशमा सोमबार पहाडी जिल्लाहरूमा तथा भोलि तराई क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।