• १८ फागुन २०८२, सोमबार

तनहुँमा सुरक्षाको ‘त्रि–घेरा’ तयार

blog

मतदान सामग्रीको व्यवस्थापन गर्दै कर्मचारी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, फागुन १८ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नियुक्त गरिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरू आवश्यक सामग्रीसहित कार्यस्थलतर्फ परिचालित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नम्बर १) र निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नम्बर २) बाट नियुक्ति पत्र र निर्वाचन सामग्री बुझेर कर्मचारीहरू आइतबारदेखि नै तोकिएका मतदान केन्द्रतर्फ प्रस्थान गरेका हुन् ।

कर्मचारीहरूलाई मतदान केन्द्र सञ्चालन, मतपत्र प्रयोग विधि, बदर मत न्यूनीकरण र मतगणना प्रक्रिया जस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक तालिम दिएर कार्यक्षेत्रमा खटाइएको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले निर्वाचनको सफलता मतदान केन्द्रमा खटिने कर्मचारीको निष्पक्षता र दक्षतामा निर्भर रहने भन्दै तालिममा सिकेका प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर एकीकृत सुरक्षा योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार जिल्लाका सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त ‘त्रि–घेरा’ योजना कार्यान्वयनमा ल्याइएको छ ।

यसैबिच एक हजार ५६९ जना निर्वाचन प्रहरीलाई समेत तालिमपश्चात् कार्यक्षेत्रमा खटाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो । यी सुरक्षाकर्मीले निर्वाचन अवधिभर नेपाल प्रहरीको प्रत्यक्ष कमान्डमा रहेर मतदान केन्द्रको सुरक्षा र मतदाताको लाइन व्यवस्थापनमा सहयोग गर्नेछन् ।

जिल्लामा कुल दुई लाख ५४ हजार ३९७ मतदाताका लागि १४४ मतदान स्थल , दुई अस्थायी र ३०९ स्थायी गरी ३११ मतदान केन्द्र तोकिएका छन् । भौगोलिक विकटता र सुरक्षा चुनौतीका आधारमा जिल्लाका ८ वटा मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखेर थप जनशक्ति परिचालन गरिएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका र छाप जस्ता ६७ प्रकारका सामग्रीहरू सुरक्षाकर्मीको निगरानीमा दमौली र दुलेगौँडाबाट वितरण भइरहेको छ। प्रजिअ तिवारीले मतदाताहरूलाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै सम्भावित अवरोध वा उच्छृङ्खल गतिविधि रोक्न सादा पोसाकका सुरक्षाकर्मी र मोबाइल गस्ती टोलीले निरन्तर निगरानी गरिरहेको बताउनुभयो ।