• १८ फागुन २०८२, सोमबार

पोखरामा भयो सर्वपक्षीय भेला

blog

पोखरामा आयोजित सर्वपक्षीय भेला ।

पोखरा समाचारदाता 

पोखरा, फागुन १८ गते । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि पोखरामा सर्वपक्षीय भेलाको आयोजना गरिएको छ । सो भेलामा पोखराका मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकार, उद्योग व्यवसायी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले नागरिक शासनको प्रत्याभूत गर्ने, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आमनागरिकको दायित्व रहेको बताउनुभयो ।

सो सन्दर्भमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मतदान स्थलमा शान्तिसुरक्षा व्यवस्था प्रभावकारी तरिकाले मतदान कार्यमा संलग्न हुन आममतदातालाई आग्रह गर्नुभयो । उहाँले कास्की जिल्लामा सुरक्षा तथा व्यवस्थापनका तयारीलाई तीव्रता दिइएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, व्यवसायी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सहयोग र समन्वय गर्न अपिल गर्नुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेको बताउँदै निर्वाचन अवधिभर सबै सरोकारवाला निकाय आममतदाताको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । नागरिक समाजका तर्फबाट राम पौडेलले मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई निष्पक्ष रूपमा कार्यसम्पादन गर्न सबै पक्षबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा निर्वाचन आयोगको निर्देशन अनुसार २०८२ फागुन १५ गतेदेखि जिल्लाभर मदिराजन्य पदार्थको ओसारपसार, खरिद–बिक्री तथा सेवनमा बन्देज लगाइने निर्णय गरिएको छ । उक्त बन्देजको पूर्ण पालना गराउन तथा उल्लङ्घन भएमा तत्कालनजिकको सुरक्षा निकायलाई जानकारी गराउन आह्वान गरिएको छ ।

त्यसै गरी निर्वाचन सुरक्षालाई हेरेर कास्की जिल्लामा सञ्चालित रात्रीकालीन व्यवसायहरू फागुन १८ देखि मतपरिणाम घोषणा नभएसम्म साँझ ९ बजेसम्म मात्र सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरिएको छ । होटेल, रेस्टुरेन्ट, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टरलगायतका व्यवसायीलाई समयसीमा कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । 

मतदान केन्द्र रहेका विद्यालय तथा अन्य स्थानमा विद्युत्, इन्टरनेट र टेलिफोन सेवा नियमित र भरपर्दो रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइने निर्णय बैठकले गरेको छ । अत्यावश्यक सेवामा अवरोध आए तत्काल मर्मतसम्भार गर्न आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।

निर्वाचन आयोगद्वारा जारी मतदानको दिन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार अनुमति लिनु नपर्ने दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, विद्युत्, दूरसञ्चार तथा स्वास्थ्य सेवालगायत अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधन तोकिएको प्रयोजनबाहेक अन्यत्र प्रयोग हुन नदिने निर्णय गरिएको छ ।

फागुन १८ गते राति १२ बजेपछि लागु हुने मौन अवधिको पूर्ण पालना गराउन सबै पक्षलाई आग्रहसमेत गरिएको छ । सो अवधिमा कुनै उम्मेदवार वा दलको पक्षमा मत माग्ने, सभा–जुलुस गर्ने तथा प्रचारप्रसार गर्ने कार्य कानुनी रूपमा निषेध गरिएको छ । निर्वाचनका क्रममा मतदाताको आवागमन बढ्न सक्ने भएकाले यातायात व्यवसायीलाई ग्रामीण रुटमा सवारी थप गर्न, तोकिएकोभन्दा बढी भाडा नलिन, सिट क्षमताभन्दा बढी यात्रु नओसार्न र छतमा यात्रु नराख्न निर्देशन दिइएको छ । त्यसै गरी बजारमा अत्यावश्यक वस्तु तथा सेवाको कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि हुन नदिन उद्योग वाणिज्य सङ्घ तथा व्यवसायीलाई समन्वय गर्न आग्रह गरिएको छ ।