• १८ फागुन २०८२, सोमबार

मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइँदै

blog

गुल्मीमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइँदै। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, फागुन १८ गते।
गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरु सोमबार मतदान अधिकृतलाई बुझाइएको छ। निर्वाचनमा खटिनुभएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी नियुक्ति पत्र दिएसँगै मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्रीहरु मतदान अधिकृतलाई बुझाउन थालिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार आज बिहान ६ देखि दिउँसो ३ बजेसम्म स्थानीय तहअनुसार निर्वाचन सामग्री मतदान अधिकृतहरुलाई जिल्ला निर्वाचन कार्यालय गुल्मीबाट बुझाउन थालिएको हो। बिहान ६ देखि १० बजेसम्मको समयमा कालिगण्डकी, चन्द्रकोट, सत्यवती, मालिका, मदाने र मुसिकोटका मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृतलाई आवश्यक निर्वाचन सामग्री बुझाइनेछ। बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्मको समयमा रुरुक्षेत्र, छत्रकोट, गुल्मीदरबार, इस्मा र धुर्कोटका मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइनेछ।

त्यसैगरी दिउँसो १ः३० बजेदेखि ३ बजेसम्मको समयमा रेसुङ्गाका मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइने उहाँले बताउनुभयो। निर्वाचन सामग्रीहरु बुझिसकेपछि अनिवार्य रुजु गर्नुका साथै मतपत्र बुझ्नका लागि मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा खटिएका सुरक्षा कमाण्डरसँग समन्वय गरी क्षेत्र नम्बर–१ मा खटिनुभएका मतदान अधिकृतहरु गुल्मी जिल्ला अदालत र क्षेत्र नम्बर–२ मा खटिनुभएका मतदान अधिकृतहरु शिक्षा, विकास तथा समन्वय इकाईको प्राङ्गणमा जानुपर्ने जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो। यस जिल्लामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन्। सुरक्षा संवेदनशीलता अनुसार ४८ मतदानस्थल अतिसंवेदनशील, ५७ मतदानस्थल संवेदनशील र ४० मतदानस्थल सामान्य सूचीमा रहेका छन्।

एक अस्थायी मतदान केन्द्र रहेको छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता छन्। जसमा महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना रहेका छन्। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन सम्पन्न गर्नका लागि कुल १७ सय आठ कर्मचारी परिचालित हुनुभएको छ। राजनीतिक दल र स्वतन्त्र गरी जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

जसमा राजनीतिक दलका २० र स्वतन्त्र २३ जना रहनुभएको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि यस जिल्लामा तीन तहको सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो।