यादवराज पुरी
रौतहट, फागुन १८ गते । रौतहट निर्वाचन क्षेत्र नं. ४ का सबै उम्मेदवारले चाँदी नदीको पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएपछि मतदाता कसलाई मतदान गर्ने भन्ने विषयमा अलमलमा परेका छन्।
मतदाताको मागअनुसार सात वर्षअघि (२०७४ असार ३१ गते) निर्माण सुरु गरिएको चन्द्रपुर नगरपालिका वडा नं. ४ टेकान र वडा नं. ३ गैडाटार जोड्ने चाँदी नदीको पुल हालसम्म पनि सम्पन्न हुन सकेको छैन। उक्त पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मतदान गर्ने स्थानीयको भनाइपछि सबै उम्मेदवारले पुल सञ्चालनमा ल्याउने वाचा गरेका हुन्।
चुरे पर्वतको फेदीमा रहेको गैडाटार बस्ती रौतहट निर्वाचन क्षेत्र नं. ४ को दुर्गम क्षेत्र मानिन्छ। स्थानीय तह निर्वाचित भएपछि सडक सञ्जालको पहुँच विस्तार भए पनि पुल निर्माण सम्पन्न नहुँदा स्थानीयवासीको दैनिकी अझै कष्टकर रहेको छ। उक्त वडामा चार हजार पाँच सय ८१ मतदाता रहेको वडा अध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिनुभयो।
स्थानीय समाजसेवी सन्तोष चौहान भन्नुहुन्छ, “निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ल्याउन र स्वास्थ्य उपचारका लागि तीनदेखि पाँच किलोमिटर पैदल हिँडेर चन्द्रनिगाहपुर बजार पुग्नुपर्ने बाध्यता छ। वर्षायाममा उर्लिएको चाँदी नदी पार गर्न सकिँदैन, विद्यालयको पठनपाठनसमेत प्रभावित हुन्छ। यी समस्याको दीर्घकालीन समाधान भनेकै पुल निर्माण सम्पन्न गर्नु हो। त्यसैले पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिने सोच छ। तर सबै उम्मेदवारले एउटै प्रतिबद्धता जनाएपछि अधिकांश मतदाता अलमलमा परेका छन्।”
नयाँ र पुराना उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका देवीप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाल कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा (एमाले) का रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आम जनता पार्टीका ऋषि धमलाले चुनावी प्रतिबद्धतामा उक्त पुल सञ्चालनमा ल्याउने बाचा गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा दुई पटक निर्वाचित नेपाली कांग्रेसका नेता तिमल्सिनाले पुनः उम्मेदवारी दिनुभएको छ। उहाँले राजनीतिक अस्थिरताका कारण योजना ओझेलमा परेको बताउँदै विजयी भएमा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको छ।
यता नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार भट्टराईले अघिल्लो कार्यकालका सांसदले योजनालाई निरन्तरता नदिएको आरोप लगाउँदै पुल निर्माण सम्पन्न गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो। अन्य नयाँ उम्मेदवारले पनि पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धतासहित घोषणा–पत्र सार्वजनिक गरेका छन्।
यस अवस्थामा दलगत आधारमा आबद्ध मतदाताले आफ्ना पार्टीका उम्मेदवार रोजेका भए पनि स्वतन्त्र मतदाताले कसलाई मत दिने भन्ने विषयमा निर्णय गर्न नसकेको एक उम्मेदवारले बताउनुभयो।