नवराज नेपाली
बागलुङ (गलकोट), फागुन १८ गते । चुनाव प्रचारको समय सकिन लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले गृह जिल्ला बागलुङमा चुनावी अभियान तीव्र बनाउनुभएको छ।
बागलुङ निर्वाचन क्षेत्र नं. १ का मतदाता रहेका सपुतले आइतबार बागलुङ नगरपालिकाका विभिन्न १० स्थानमा मन्तव्य तथा सांगीतिक प्रस्तुति दिँदै मत माग्नुभएको रास्वपा बागलुङले जनाएको छ।
प्रत्यक्षतर्फका बागलुङ क्षेत्र नं. १ का उम्मेदवार सुशील खड्कासँगै चुनावी अभियानमा जुट्नुभएका सपुतले बागलुङ बजारका विभिन्न स्थान र बलेवामा सांगीतिक प्रस्तुति गर्दै मत माग्नुभएको थियो। बागलुङ बजारको गोल्डेनगेट चोकबाट सुरु भएको कार्यक्रम बागलुङ नगरपालिका–४ उपल्लाचौर कटरको रुख, आर्मी ब्यारेक चोक, श्रीनगरटोल, एटिएम चोक, शिवधारा चोक, देउराली चोक, चिप्लेटी बसपार्क र समिट चोक हुँदै बलेवा पुगेर सम्पन्न भएको थियो। सांगीतिक प्रस्तुति दिँदै सपुतले प्रत्यक्ष र समानुपातिक उम्मेदवारका पक्षमा घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।
मुलुकले स्थिरता खोजिरहेको उल्लेख गर्दै उहाँले समाजमा विद्यमान विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर गाउँमै सिर्जना नहुँदा धेरै युवाहरू विदेशिन बाध्य भएको उहाँको भनाइ थियो।
“दलहरूले संघर्ष गरेर व्यवस्था परिवर्तन गरे पनि अवस्था परिवर्तन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “त्यसैले विभिन्न पेशा–व्यवसायमा लागेका मानिस पनि राजनीतिमा सक्रिय हुन बाध्य भएका छन्।”
यसअघि धेरै पटक अन्य दललाई मत दिइएको उल्लेख गर्दै उहाँले यसपटक रास्वपालाई साथ दिन आग्रह गर्नुभयो। “पाँच वर्षसम्म स्थिर सरकार चल्ने गरी मत दिनुस्, केही न केही परिवर्तन हुन्छ,” उहाँले भन्नुभयो, “हामी सांसद भएर फेरि आउँछौँ वा आउँदैनौँ, तर धारामा पानी, शिक्षा, स्वास्थ्य र विभेद अन्त्यका लागि पहल गर्नेछौँ।”
युवाहरूले विदेशबाट पठाएको विप्रेषणले मात्र देश चल्न नसक्ने बताउँदै सपुतले देशभित्रै सम्भावना खोजेर रोजगारी सिर्जना गर्ने राजनीति आवश्यक रहेको बताउनुभयो। उहाँले रास्वपाको सरकार बन्ने गरी मतदान गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेदवार सुशील खड्काले विकासको गतिलाई प्रभावकारी बनाउन आफूहरू राजनीतिक मैदानमा आएको बताउनुभयो। रास्वपाले क्षेत्र नं. १ का विभिन्न वडामा चुनावी अभियान सम्पन्न गरी अहिले बजार केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।