हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन १८ गते । बाक्लो हिउँ जमेर अवरुद्ध भएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँ जाने सडक सञ्चालनमा आएको छ।
सदरमुकाम जोमसोम हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडकखण्डअन्तर्गत झेकिलाडाँडा र बताँते हुँदै साङ्ता गाउँ पुग्ने सडकमा १२ फिटसम्म अग्लो हिउँ जमेको थियो। उक्त हिउँ डोजरको सहायताले छ दिन लगाएर पन्छाएपछि ट्याक्टर र जिप गाउँसम्म पुग्न सफल भएका छन्।
गत कात्तिक ११ गतेदेखि लगातार हिमपात हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता घर फर्किन समस्या भएपछि जिल्ला सुरक्षा समितिको अनुरोधमा सडक डिभिजन कार्यालय बागलुङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा मेसिन प्रयोग गरी सडक खुलाइएको वडा नं. ५ का अध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो।
उहाँले भन्नुभयो, “सडकमा जमेको हिउँ पन्छाइएको छ, गाउँसम्म पुग्न अब कुनै समस्या छैन। मतदाता फर्किने तयारीमा हुनुहुन्छ।” वडा अध्यक्ष गुरुङ बोलेरो जीप चढेर साङ्ता गाउँ पुगेर फर्किनुभएको छ।
सडकमा जमेको हिउँ हटाइए पनि बिहान र बेलुका सडक चिप्लो हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
करिब ९ किलोमिटर सडकमा जमेको हिउँका कारण पैदल हिँड्ने बाटोसमेत पुरिएको थियो। सडक अवरुद्ध भएपछि वडा कार्यालयले मतदानस्थल छिमेकी गाउँमा सार्ने प्रस्तावसमेत गरेको थियो।
१३ घरधुरी रहेको साङ्ता गाउँमा करिब ७० जनसंख्या रहेको छ, जसमा ३९ जना मतदाता छन्। गाउँमा रहेको टेलिकम टावरसमेत मर्मत गरिएको छ।
समुद्री सतहदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको साङ्ता गाउँ सदरमुकाम जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्छ। चिसो छल्न गाउँबाट झरेकाहरू हाल छिमेकी फलेक, धाकारजुङ र पाक्लिङ गाउँमा बस्दै आएका छन्।