• १८ फागुन २०८२, सोमबार

स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

blog

अर्जुन काफ्ले
स्याङ्जा, फागुन १८ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा चार महिलासहित १६४ कैदीबन्दी रहेकोमा मात्र १७ जनाले मतादान गर्न पाउने भएका हुन् ।

यहाँ रहेका कैदीबन्दीमध्ये मतदाता परिचय पत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम सवावेस भएकाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये मतदान गर्ने सबै पुरुष मात्र रहेको र सबैले समानुपातिक मतदान गर्ने थापाले बताउनुभयो ।यहाँ निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीलसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट सङ्कलित विवरणका आधारमा अस्थायी केन्द्र रहेको स्याङ्जा कारागारमा रहेका कैदीबन्दीसहित एक हजार ८५९ जना अस्थायी मतदाता रहेका छन् ।

अस्थायी मतदातामध्ये निर्वाचनमा नखटिएका कर्मचारीले कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । स्याङ्जाको क्षेत्र नं— १ मा एक लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुरक्षाको दृष्टिले ३२२ मतदान केन्द्रमध्ये ५६ अतिसंवेदनशील र ७१ संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अतिसंवेदनशील र संवेदनशील रहेको मतदान केन्द्रमा सुरक्षामा विशेष निगरानी र कडाइको गरिने छ ।