• १८ फागुन २०८२, सोमबार

निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुग्दै कर्मचारी

blog

जिल्ला निर्वाचन कार्यालय सर्लाहीको परिसरमा राखिएको मतपेटिका । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन १८ गते ।
 फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने तयारी अन्तिम चरणमा पुगेको छ।

सर्लाहीका चारवटा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री बुझ्न आउन सूचना जारी गरेका छन्। मतदान अधिकृतलाई आज फागुन १८ गते दिउँसोसम्म वा भोली मङ्गलबार बिहानसम्म मतदान केन्द्रमा पुगिसक्न भनिएको छ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले आफूसँग खटाइएका कर्मचारी र सुरक्षाकर्मीसँग समन्वय गरी मतदान केन्द्रमा पुग्नुपर्ने जानकारी दिनुभयो। मतदान केन्द्रसम्म पठाउन मतपत्र रुजु गरी प्याकिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। मतपेटिकासहितका अन्य निर्वाचन सामग्री जिल्ला सदरमुकाम मलङ्गवास्थित निर्वाचन कार्यालयले चारवटै क्षेत्रका निर्वाचन अधिकृत कार्यालयमा पठाउने काम धमाधम गरिरहेको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई यसअघि नै अभिमुखीकरण प्रशिक्षण दिइसकिएको छ।

आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्र पुग्ने मतदान अधिकृतले सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्र निर्माण गर्ने र आवश्यक सूचनाहरू टाँस्ने लगायतका काम गर्ने छन्। निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार क्षेत्र नं. १ मा तारजालीसहित मतगणनास्थल तयार पारेर सीसी क्यामेरा जडान गर्ने कामसमेत सम्पन्न भइसकेको छ।

फागुन २१ गतेको निर्वाचनमा सर्लाहीका चारवटा निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र तोकिएको छ। मतदाता धेरै रहेको कतिपय स्थानमा एउटै मतदानस्थलमा (क), (ख) र (ग) गरी तीनवटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र दुई जना स्वयंसेवक परिचालन हुनेछन्। आवश्यक सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी पनि परिचालन हुनेछन्। मतदानको दिन बाहिरी सुरक्षामा नेपाली सेनासमेत तैनाथ हुने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो।

सर्व कर्मचारीलाई नियुक्ति प्रदान भइसकेको छ भने दुई जना स्वयंसेवक मतदान केन्द्र रहेकै ठाउँका स्थानीयलाई प्राथमिकता दिइ नियुक्त गर्न निर्देशन दिइएको छ।

२१ गतेको निर्वाचनका लागि सर्लाहीमा कुल पाँच लाख ११ हजार ६०६ मतदाता रहेका छन्। यसमा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य मतदाता छन्। चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा १ लाख ३० हजार ८७१, क्षेत्र नं. २ मा १ लाख २५ हजार ३१३, क्षेत्र नं. ३ मा १ लाख ३४ हजार ४१२ र क्षेत्र नं. ४ मा १ लाख २१ हजार १२ मतदाता रहेका छन्।

प्रतिनिधि सभा सदस्यको चुनावमा क्षेत्र नं. १ मा २८ जना, क्षेत्र नं. २ मा ३१ जना, क्षेत्र नं. ३ मा ३४ जना र क्षेत्र नं. ४ मा ३८ जना गरी सर्लाहीमा कुल १३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।