गौशाला समाचारदाता
गौशाला (महोत्तरी), फागुन १८ गते । महोत्तरीसहित तराई मधेशका जिल्लामा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । आँपका रुखमा प्रशस्त मात्रामा मञ्जर (फूल) लागेपछि किसान उत्साहित छन् ।
यस वर्ष अधिकांश बगैँचा तथा घरआँगनका आँपका बोटमा पात नै नदेखिने गरी फूल फुलेको छ । राम्रो फूल लागेकाले उत्पादन बढ्ने अपेक्षामा किसान आशावादी देखिएका छन् ।
आँप एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने बाली भएकाले यस वर्ष फल्ने सिजन परेकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र महोत्तरीका बागवानी विकास अधिकृत अविरलकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष फूल राम्रो लागेकाले उत्पादन तेब्बरसम्म हुन सक्ने सम्भावना छ । मौसम अनुकूल रही हावाहुरी वा असिनाले क्षति नगरे अपेक्षा अनुसार उत्पादन हुने अनुमान छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त प्रमुख देवानन्द राय यादवले पनि यस वर्ष जिल्लाभर आँप उत्पादन राम्रो हुने प्रक्षेपण गरिएको बताउनुभयो । “आँप एक वर्ष बढी र अर्को वर्ष कम फल्ने बाली हो । यस वर्ष सबैतिरबाट राम्रो उत्पादन हुने देखिन्छ,” उहाँले भन्नुभयो ।
जिल्लाका सबै भेगमा धेरथोर आँप बगैँचा लगाइएको भए पनि बर्दीबास, गौशाला, औरही, मटिहानी, मनरासिसवा र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमै बगैँचा खेती गरिएको छ ।
खासमा बर्दीबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, गढन्ता, चेरु, सोनापेटी, वरडाँडा, माईस्थान, पाटु, भब्सी, बिजलपुरा र पशुपतिनगरका धेरै जसो किसानको खेती भनेकै आँप बगैँचा हो । त्यसै गरी गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फूलकाहा, बेलगाछी, कुस्माढी, रजखोर र रामनगर बगैँचा खेतीका पकेट क्षेत्र मानिन्छन् । यस वर्ष जिल्लामा करिब छ हजार छ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ ।
औरही नगरपालिका–२ का किसान रामदरेश यादवका अनुसार सुरुदेखि नै राम्रो फूल लागेकाले गत वर्षको तुलनामा यस वर्ष उत्पादन दोब्बर हुने अपेक्षा गरिएको छ ।
मधेश प्रदेशका महोत्तरी, धनुषा, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ वटै जिल्लामा व्यावसायिक रूपमा आँप खेती गरिन्छ । यहाँको उष्ण प्रदेशीय माटोमा मालदह, दसहरी, आम्रपाली, बम्बई, कलकतियालगायतका आँप उत्पादन हुन्छन्, जुन स्वादिष्ट, रसिलो र पोसिलो मानिन्छ । एक तथ्याङ्क अनुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमध्ये मधेश प्रदेशमा मात्र २९ हजार ९९ हेक्टरमा आँप खेती हुँदै आएको छ । कुल उत्पादनको ७७.१ प्रतिशत आँप मधेशमै उत्पादन हुने गरेको छ ।
मधेशमा उत्पादन हुने आँपको माग काठमाडौँ, पोखरालगायतका ठुला सहरमा अत्यधिक रहने भएकाले फूल लागेसँगै व्यवसायीले बगैँचा नै ठेक्कामा लिने प्रचलन छ । हेरचाह तथा बजारसम्म ढुवानीको झन्झट कम गर्न किसानले पनि फूल लाग्नासाथ बगैँचा व्यापारीलाई ठेक्कामा दिने गरेका छन् ।