• १३ पुस २०८१, शनिबार

म जलेश्वरकी निहारिका...

blog

त्यो, त्यही दिन हो छोरू !

जुन दिन–

हाम्रो जिन्दगीको नग्न तस्बिर भाइरल बनाएर

फरार भयो रङ्गीन सपना  !


थाहा थिएन मलाई– आकाश किन धरतीतिरै निहुरन्छ ? 

हो, त्यही दिन हो बा !

थाहा भयो– चट्याङ बर्सिएर सपना डढाउन पो रहेछ


हो, त्यही दिन हो छोरू !

मेरो सादा श्वेत जीवनको श्याम सपना 

रङ्गिलो बनेजस्तो लाग्यो 

जुन दिन तिमी 

आकाशको इन्द्रेणीद्वारबाट देवतासरी

फाँटिलो धरती सम्झी मेरो काखमा ओर्लियौ...


त्यो, त्यही दिन हो

जुन दिन तिमी 

मेरो काखमा चन्द्रमाजस्तो उदाउँदा

दङ्दास म मात्र होइन 

मूर्तिहरूमा देवीदेवता पनि हाँसेजस्तो लाग्थ्यो

आकाशमा ताराहरू नाचेजस्तो लाग्थ्यो

मैले हिँडेका बेसुरका बाटाहरू पनि

एउटै स्वरमा सुरबद्ध भएर

विशाल बाटो नै सँगै हिँडेजस्तो लाग्थ्यो...


तर म– जलेश्वरकी निहारिका 

तिम्रा नाममा कुमारी आमा बनेको दिनबाटै 

सडक किनारमा म, रमिता सम्झेर सडक नै हाँसिरहे

आकाशमा बादलहरू मजस्तै आँसु लुकाएर हतारमा उडिरहे 

सँगै ओसिलो सूर्य भने उज्यालोजति कुम्ल्याएर हतारमै उल्टो सवार गरिरहे 

मेरै मनको धुवाँ निसास्सिएर बर्सिएको भेलबाढी हतारमै बगिरहे

र किनारमा तैनाथ रुखहरू भने मेराविरुद्ध उजुरी गर्न उल्टातिरै दौडिरहे

हो, त्यही दिन हो बा !

जुन दिनबाट सिङ्गो संसार नै हामीभन्दा उल्टातिर हिँडिरहे...

यतिखेर प्रकृतिको संविधानसम्मत तिम्री आमा

जलेश्वरकी निहारिका, म–

आपूmभन्दा गह्रँुगो चोटको भारी बोकेर 

बेवारिस सडकबाट एक पाइलाअघि 

कसैले ओढाएको दयाको ओतमुनि 

आमाको प्रमाणपत्र पाउन 

किनार पन्छिएर जिन्दगीको परीक्षा दिइरहेछु...


यदि प्रमाणपत्रबिनै म मरेँ भने 

या भनौँ, 

हिउँको सुन्दर मूर्तिजस्तो पग्लिएर केवल स्मृति बनेँ भने पनि

म मरेकै ठाउँ किनार होइन, केन्द्र बन्ने छ ।


हो, त्यो दिन–

रक्तबीज बनेर तमाम निहारिकाहरूको जुलुसले 

सालिक बनेका न्यायमूर्तिहरूलाई बलियो गरी घेर्ने छन् 

र सत्यमा, सालिक बनाएरै छाड्ने छन्... !


म, जलेश्वरकी निहारिका

हो, त्यही दिनबाट केन्द्र बनाएर मलाई नै

सारा ग्रहहरूले परिक्रमा गर्नेछन्... !!