• १३ पुस २०८१, शनिबार

यस युगको सिसिफसको यात्रा

blog

आफूभन्दा बलियाहरूले मिच्दा मिच्दा साँघुरिएर

बित्ताभर बाँकी रहेको छ

मेरो जीवनको राजमार्ग

म त्यही सानो र अप्ठ्यारो बाटोमा 

नितान्त एक्लै, चुपचाप, ज्युँदो मुर्कट्टाझैँ

एकनाससित हिँडिरहेको छु 

मेरी आमाले मेरा पाइताला र भुइँका बीच 

जुन क्षण नाता जोडिदिएकि थिइन् 

त्यही अहिले बिर्सिसकेको क्षणदेखि 

आजसम्म पनि 

म निरन्तर र अविश्रान्त यात्रामै छु । 


गन्तव्यको टुङ्गो नै नगरी 

अरू कसैले तय गरिदिएको 

यो लामो र पट्यारलाग्दो यात्रामा 

प्रस्थान गर्नुअघि

मलाई आवश्यक तयारी गर्ने 

कुनै अवसर दिइएको छैन 

न दिइएको छ शस्त्र न त कुनै अस्त्र नै

न कवच, न त तीर–कमान नै,


मेरो जीवनको कुरुक्षेत्रमा मलाई लड्न

र जित्न सिकाउँने 

कुनै वासुदेव पनि छैन मसँग

मैले त अर्जुन र श्रीकृष्ण दुवै 

आफैँ नै भएर लड्नु परेको छ  

मेरो पराजय पहिले नै निश्चित गरिएको

यो अधर्म–युद्ध

यस्तो अधर्मी लडाइँको औचित्यमाथि 

प्रश्न उठाउने सुविधासम्म पनि छैन मसँग 


यो यात्रा जारी राख्न म अभिशप्त छु

मेरो पहरेदारी गरिरहेको शिरमाथिको आकाश 

छ विशाल र अत्यासलाग्दो 

प्रतिपल टाढा भागिरहेको क्षितिज र

यात्रा–पथमा ढसमस्स बसेको 

हताशाको गहु्रँगो, गतिहीन हावाबाट बँच्दै

दायाँ–बायाँ काँढेतारको बारझैँ उभिएका

एकै किसिमको मखुण्डो लगाएका 

अगणित मानिसहरूको पङ्क्तिलाई छल्दै

म आजको युगको सिसिफस

कहिल्यै नपुगिने लक्ष्यमा पुगिछोड्ने

मृगतृष्णाको पछि दगुरिरहेको छु 

आफ्नो मृत्युको घडीमा पुगेर पनि

अधुरै रहने यात्रा जारी राखिरहेको छु ।