काठमाडौँ, माघ १६ गते । माघ १६ गते सहिद दिवस । पुरानो नेपाललाई नयाँ नेपालको मार्गदिशा प्रदान गर्ने चार सहिद धर्मभक्त माथेमा, शुव्रmराज शास्त्री, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको योगदान स्मरण गर्ने दिन । सहिदहरूको सम्झनासँगै उनीहरूको अपेक्षाको कार्यान्वयन र योगदानको पुस्तान्तरण सही तरिकाले हुन नसकेकोमा नयाँ पुस्ताले मन अमिलो बनाएका छन् । पुराना पुस्ताले पुस्तान्तरणमा कञ्जुस्याइँ गर्दा नयाँ र पुराना पुस्ताबिच दुरी बढ्दै गएको वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग स्वीकार गर्नुहुन्छ ।
उहाँ विसं १९९७ माघ १४ गते चकमन्न मध्यरात स्मरण गर्नुहुन्छ; जुनबेला शोभाभगवती मन्दिरछेउको खोलाकिनारमा दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई बाँसमा पाता कसेर उभ्याइएको थियो । तत्कालीन शाणा शासकका तर्फबाट नरशमशेर राणा उनीहरूलाई गोली ठोक्न पुगे । हात र खुट्टामा किला ठोकेर रगताम्य पारिसकेपछि नरशमशेरले भने, “अझै पनि माफी माग् र हामीले बिरायौँ भन्, ज्यान छाडिदिन्छौँ ।” दशरथ चन्दले जवाफ फर्काए, “हामीले के बिराएका छौँ र ? किन माफी माग्ने ? सरकार
निरङ्कुश नहोस् र जनताले सुख पाऊन् भनेका न हौँ ।” उमेरमा दशरथ चन्दभन्दा निकै साना गङ्गालालले जोसिँदै थपे, “सक्छौ भने छातीमा गोली ठोक, हामी मर्न तयार छौँ तर माफी माग्दैनौँ ।”
नरशमशेरले जनताको सुखको कुरा सुन्नै चाहेनन् र दुवैलाई गोली ठोकेर हत्या गरेको उहाँ सुनाउनुहुन्छ । त्यसअघि माघ १० गते मध्यरातमा टेकुस्थित पचलीमा शुक्रराज शास्त्रीलाई खरीको बोटमा झुन्ड्याएर शाणा शासकले मारेका थिए । उता धर्मभक्त माथेमालाई कालो पुलको सिफलमा गोली ठोकिएको थियो । आफ्नो मात्र स्वार्थ चाहेको भए माफी मागेर स्वतन्त्र हुन्थे र जीवन पाउँथे तर राणा शासकविरुद्ध सामूहिक रूपमा आवाज उठाउँदै जनता जगाउने साहस यी चार सहिदले देखाएका थिए ।
राणा सरकारको विरोध गर्दा मारिने पहिलो सहिद भने लखन थापालाई मानिन्छ । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा उहाँलाई विसं १९३३ फागुन २ गते गोरखा मनकामना मन्दिरनजिक रुखमा झुन्ड्याएर मारिएको थियो । त्यही सिको राणा शासकका अन्य पुस्ताले गर्दै आफ्नाविरुद्ध टाउको उठाउनेलाई सार्वजनिक स्थानमा मार्ने गरेका थिए ।
सरकार भनेको जनताको आशा र भरोसाको केन्द्र हो । त्यही आशाको केन्द्रमा जनताको कुरा सुनाउन लागिपरेका चार सहिदलाई निर्मम तरिकाले राणा शासनकालमा मारिएको संस्कृतिविद् ग्वंग बताउनुहुन्छ । उहाँले स्मरण गर्नुभयो, “हामी बालखै थियौँ, बाआमाले घरबाट ननिस्कनू, बाहिर खतरा छ, सरकारले लैजान्छ भनेर डर देखाएर घरभित्रै राख्नुहुन्थ्यो ।” के भएको छ भनेर सोध्दा सरकारका कुरा गर्नु हुँदैन भनेर चुप लगाउने गरेको सम्झना अझै छ उहाँलाई ।
उहाँका अनुसार यी चार सहिदमा केही पाउने लालसा र लोभ केही थिएन । राणा शासकहरूले शासनको मादमा जनताका सामान्य आवश्यकता पूर्तिमा ध्यान नदिएर उल्टो थिचोमिचो गरेको देख्दा मन थाम्न नसकेर सामूहिक विरोध सुरु गरेका थिए । ग्वंग थप्नहुन्छ, “राणाहरूले बाँकी राख्दैनन्, मार्छन् भनेर थाहा पाउँदा पनि जनताले पाउनुपर्ने अधिकार पाउनु पर्छ भनेर जानी जानी ज्यान दिन तयार भएका थिए ।”
त्यसैले पनि आजपर्यन्त उहाँहरूको स्वच्छ योगदानको कदर गरिन्छ र सम्मान गरिन्छ । त्यही योगदानको रापमा राणा शासन अन्त्य भयो । नेपालमा प्रजातन्त्र आयो, बहुदलीय शासन आयो अनि राजतन्त्र मासेर गणतन्त्र पनि आयो तर देशमा सुशासन अझै कायम हुन नसक्दा सहिदहरूका सपना साकार नभएको उहाँको ठहर छ । परिणाम स्वरूप गत भदौमा जेनजी आन्दोलनको घटना हुन पुग्यो ।
जेनजीहरूको चाहना पनि देशमा सुशासन रहोस् र जनताले सुख पाऊन् भन्ने नै रहेको स्मरण जेनजी नेतृ मनिका निरौला बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तर विडम्बना चार सहिदले चाहेको कुरा देशमा अझै भएको छैन, जेनजीले उठाएको कुरा पनि त्यही हो ।” शासन प्रणाली र नेतृत्वहरू फेरिँदै गर्दा जनताको मुहार परिवर्तन हुन नसक्ने हो भने चार सहिदका आत्मा पनि सुखी नहुने टिप्पणी उहाँ गर्नुहुन्छ । आफू जन्मेको देश, त्यहाँको संस्कृति, अस्तित्वको रक्षासँगै स्वतन्त्रताको निम्ति ज्यान बलिदान दिने सहिदका योगदान शासकहरूले बिर्सने प्रवृत्ति रहेको निरौला बताउनुहुन्छ । जेनजी पुस्तालाई सहिदका योगदानका बारेमा सम्झाउने, बुझाउने र देशप्रति योगदान गर्न सिकाउने सही अभ्यास हुन नसकेको टिप्पणी उहाँ गर्नुहुन्छ । सहिद सप्ताह सकिन लाग्यो तर कसैले पनि जेनजी समूहलाई बोलाएर पुराना सहिदका सपना र भूमिका सुनाउन कोसिस नभएकोमा निराशा व्यक्त गर्नुहुन्छ ।
चार सहिदका कुरा जसरी इतिहासका रूपमा पढाइन्छ, त्यसमा पनि पुनरवलोकन हुनुपर्ने जिकिर नयाँ पुस्ताको छ । उहाँहरूले त्यो बेला गरेको सङ्घर्षलाई जनताले कसरी मनन गर्नु पर्छ र कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरा अबको समाजको आवश्यकता रहेको पनि जेनजी पुस्ता औँल्याउँछन् ।
स्वतन्त्रता र जनताको सुख नै सरकारको सर्वोपरि चाहना बनाउँदै युवालाई साथै अघि बढाउन सके पछिल्लो समय देखिएको पुराना र नयाँ पुस्ताबिचको दुरी हट्दै सहिदका सपना साकार हुने संस्कृतिविद् ग्वंग दाबी गर्नुहुन्छ ।