• ४ वैशाख २०८३, शुक्रबार

पुर्ख्यौली नाच संरक्षणमा युवापुस्ता

blog

पुख्र्यौली नाच देखाउँदै कलाकार । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

बेनी, वैशाख ४ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–५, कुवापानीका स्थानीय मौलिक कला संस्कृति संरक्षणमा जुटेका छन् । गाउँमा भएका पाका र युवापुस्ता पुख्र्यौली नाचको संरक्षण र पुस्तान्तरणमा सक्रिय भएका हुन् । 

पुख्र्यौली नाच संरक्षण समूह बनाएर नयाँ पुस्तालाई नाच सिकाउने गरेका छन् । गाउँमा आयोजना हुने विभिन्न कार्यक्रममा पाका, युवा र बालकलाकारले सँगै पुख्र्यौली नाच प्रदर्शन गर्ने गरेको कुवापानी टोल विकास समितिका अध्यक्ष तिर्खबहादुर पाइजाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आधुनिक संस्कृतिले गर्दा हाम्रो पुख्र्यौली मौलिक कला संस्कृति नै लोप भएर जान थालेपछि गाउँमा समूह बनाएर सिप हस्तान्तरणको प्रयास गरेका छौँ । गाउँमा आयोजना हुने विभिन्न कार्यक्रममा आएका पाहुनाको स्वागतका लागि पाका, युवा र बालकलाकार सँगै भएर पुख्र्यौली नाच देखाउने गरेका छौँ ।” पुख्र्यौली नाचमा सँगै बालकलाकारलाई पनि सहभागी गराउँदा उनीहरूले संस्कृतिका बारेमा बुझ्ने र सिक्ने मौका पाउने उहाँको भनाइ छ । हालै मात्र स्थानीय गिद्धेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटनका अवसरमा बालकलाकारसमेतको सहभागितामा पुख्र्यौली नाच प्रदर्शन गरिएको थियो । नाचमा अधिकांश युवा र बालकलाकारले सहभागिता जनाएका थिए । 

मगर समुदायको पुख्र्यौली नाच, मौलिक संस्कृति र परम्पराको संरक्षण गरी पर्यटन प्रवर्धनका लागि वडाले सहयोग गर्ने गरेको जलजला गाउँपालिका–५ का वडाध्यक्ष तिलक जिसीले बताउनुभयो । जलजला गाउँपालिकाले मगर समुदायमा रहेका विद्यालयमा पुख्र्यौली नाच र संस्कृतिका बारेमा पढाउनसमेत थालेको छ ।