• १३ पुस २०८१, शनिबार

अन्तिम बिदाइ (कविता)

blog

अब बाटाहरूले हात हल्लाउँदै 

हिँड्नुको तुक छैन

न त चेप र गल्लीहरूले चिहाइ चिहाइ 

हेर्नुको मजा छ 

रुखका पातहरू माथिबाट स्वागत गरेझैँ गरी झरे पनि

अब अर्थ छैन 


जब बस स्टेसन आँखा उठाएर

हेर्छ पर पर 

त्यहाँ यौटा हातमा बस कार्ड लिएर 

हिँड्ने मान्छे हुन्न 

जब पसलको कारिन्दा 

आँखी भुइँ खुम्च्याएर चस्मा तल–माथि पार्दै हेर्छ

ठम्याउन सफल हुन्न यौटा सुकुलो मुहार 

जो हमेसा आउँथ्यो लिन साँझ बिहानको सामल


र समयको रफ्तार 

यति अघि बढिसकेको हुन्छ

स्वयं घडी लाउने मान्छेलाई पतो हुँदैन

समय फुत्केर हिँडिसकेको छ 

फेरि अर्कै आयाम 

र निदाएर रातभर अथवा गाडीमा बसेर पूरै सहर


अब सुत्नुपर्ने छैन 

अबेला छ बजेर बीस मिनेट जाँदासम्म 

मुगलान नफेरिए पनि जगा फेरिएको छ

खाने उठ्ने ताल फेरिएको छ

निम्छरो छ जिन्दगी र त पत्तै हुँदैन

हिँडिरहेको, देखिरहेको, साथ छुटी गएको 

कोही जनलाई तर केही फरक पर्ने छैन 


यी माया पिरती भन्ने कुरा पनि तपशील न हुन

पैसामा आशक्ति छ 

पैसा भएपछि कोही चाहिन्न 

यस्तै सोचेर, घर घर जस्तो बनेको छैन 

परिवारको एक सदस्य गायब छ 

त्यो गायब हुनुमा मन अलिनो नभएको होइन

तर देखासेखीको नाममा 

उसलाई बाहिर राखे नि केही हुन्न



अब मुर्छनाहरूले मान्छेहरूलाई छुन छाडेको छ

र श्रीमती बाहिर छे खसम घरमा छ

या त श्रीमान् परदेशमा छ श्रीमती घरको चार दिवालभित्र छे

यसैले सबै अन्तिम बिदाइको तयारी हो भन्दा 

खासमा कुनै नयाँ हुने छैन 


बगैँचाले, घरले, घरका मान्छेले, माटोले

अब केही भन्ने होइन

भन्ने आफ्नै मनले हो 

हिँड्नु पर्ने त हो आफैँले

तर याद रहोस् यो अन्तिम बिदाइ हैन जीवनको

यो त सुरुवात मात्र हो


अप्ठ्याराहरू आउनुपूर्व 

आफन्तहरू भेट्नुपूर्व 

कुलो, कलेसो, कुम्लो, कुटुरो केही हैन

त्यसैले 

त्यो बिदाइ होस् पराइ भूमिको

होस बिदावरी खेदको

भेट नहोस ईष्र्याको, तुच्छताको, कामुकताको, लोभको

होसियार जताततै  खित्का छाडेर 

हो साँझ बिहान कुरी नै  रहेछ  

मान्छेलाई अन्तिम बिदाइ ! 


दमक बजार, झापा

हाल– अबुधाबी, यूएई