गोकर्ण दयाल
बैतडी, पुस २५ गते । पम्परागत आरन पेसा लोप भइरहेका बेला यहाँको एक विश्वकर्मा परिवारका बाजे, छोरा, नाति र पनाति पुस्ताका १४ जना सदस्य एउटै आरन काम गरेर आम्दानी गर्दै आउनुभएको छ । चार पुस्ताका सदस्यको आरन मात्रै होइन, परिवारका सदस्य पनि सगोलमा बस्दै आइरहेका छन् ।
दशरथचन्द नगरपालिका–४, जर्गौका ८० वर्षीय दुरा लुहार, उहाँका छोरा ६३ वर्षीय नरीराम लुहार, नाति पुस्ताका ४१ वर्षीय प्रेमराम लुहार, ३४ वर्षीय गजीराम लुहार, बुहारी र पनाति पुस्तासम्म एउटै आरनले धानेको छ । यो परिवार विगत ८० वर्षदेखि सगोलमा बस्दै आएको छ । तामा र फलामका भाँडा र औजारको माग बढेपछि उहाँको परिवारका सबै सदस्य अहिले गोठालापानी बजारमा आरन चलाएर रोजगारी गरिरहेको छ ।
बाजे पुस्ताका दुरा लुहार अहिले पनि छोरा र नातिलाई अनुभव प्रदान गरेर सघाइरहनुभएको छ भने उहाँका ६३ वर्षीय छोरा नरीराम लुहार र उहाँका दुवै छोरा (तेस्रो पुस्ता) फलाम र तामाका सामग्री निर्माण गर्दै आइरहनुभएको छ । चौथो पुस्ताका पनाति भने विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यालय बिदाको दिन उनीहरू पनि कोइला खोज्न सहयोग गर्दै आएका छन् ।
आरन पेसाबाटै चौथो पुस्ताका सात जना नाति/नातिना कक्षा ७ देखि १० सम्म अध्ययन गरिरहेको ६३ वर्षीय नरीराम लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले पढ्न पाइन । छोराहरूले पनि १० कक्षामै पढाइ छाडे । अब नयाँ पुस्तालाई उच्च शिक्षासम्म पढाउने धोको छ ।” आरन पेसाबाट सिजनमा राम्रो आम्दानी हुने गरेको ३४ वर्षीय जगीराम लुहारले बताउनुभयो । खेतीपाती लगाउने र चाडपर्वको सिजनमा दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । अघिपछि भने घर खर्च चल्ने गरेको छ । चार पुस्ताका १४ जनालाई एक छाकमा तीन किलो चामल पाक्ने गरेको छ ।
‘जर्गाल फोला’ का सिपालु
जिल्लामै चर्चित तामाको जर्गाल फोला (स्थानीय गाग्री) बनाउने यो समुदाय सिपालु मानिन्छ । पछिल्लो समय तामाका गाग्री प्रयोग गर्ने चलन हराएसँगै स्थानीय फोलाको माग घट्दै गएको नरीराम लुहारले बताउनुभयो । तामाको भाँडामा राखेको पानी शरीरका लागि फाइदाजनक भए पनि तामाको मूल्य बढेपछि पछिल्लो समय फोलाको प्रयोग घट्दै गएको छ । यद्यपि मन्दिरका लागि तामाको त्रिशूल, देडो (दीयो) तामाको गाई जस्ता प्रतिमाको माग भने घटेको छैन ।
पुस्तौनी आरन पेसा गर्दै आइरको यो परिवारका सदयस्यले वेल्डिङ गर्ने आधुनिक सिप सिक्ने धोको रहेको बताएका छन् । आरनले मात्रै परिवार धान्न नसकिने अवस्था आएको गजीराम लुहारले बताउनुभयो । जग्गा बाँझो राख्दा कृषि औजार बनाउने पनि घटेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेपछि आरन पेसाले छाक टार्न मात्रै पुग्ने गरेको उहाँहरूको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले टीकाराम दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत परम्परामा आधारित आरन पेसा गर्नेहरूलाई प्रोत्साहन गरेको छ । बैतडीस्थित सामाजिक विकास कार्यालय अन्तर्गत आरन पेसा गर्नेको सात दिने क्षमता विकास कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो । कार्यक्रममा चार पुस्तादेखि निरन्तर आरनमा काम गर्दै आएको गजीराम लुहारको परिवारका सदस्यसमेत सहभागी भएका छन् ।