• १३ पुस २०८१, शनिबार

भोक र अस्पताल (कविता)

blog

वैरागी जेठा

प्रत्येक रातसँग

सिउँरी खेल्दै आइरहँदा

आज थकित छु ।

जूनतारासँगै नाचेर ब्युँझेको म

ओइलाएको छु

बाका सपनाहरूसँगै

अस्पतालका हरेक कोठामा

आफैँ नर्स र डाक्टर बनेर

मिर्मिरे बिहान पिउँछु

प्रसिद्ध अस्पतालको सँघारमा

समयलाई अँठ्याएर

बालाई यता उता दौडाउँछु

कुनै चिकित्सक भेटिन्नन् ।

हातमा उठेका फोरासँग युद्ध लड्दै म

सहरका अस्पताल  डुल्दा

बाको अप्रेसन गर्नसकिरहेको छैन

साथीभाइहरू पनि दूरदूर  भइसकेछन्

दुई वर्षको अन्तरालमा 

ओ हो सहर, निकै निष्ठुर भइसकेछ 

मेरी आमा बाको उपचार यसै भन्न सक्दिनँ

डाक्टरहरू छैनन्

खोजिरहेछु, कहीँकतै भेटिएकाछन्

बा एकनास बरबराइरहनु भएको छ

आँखाबाट आँसु बन्द भएका छन्

नारायण गोपाल चोक

घाउको बारुद बनाएर प्रहार गर भन्छ

मर्मभेदी आक्रोश रकेटझैँ कुदिरहेछ

मेरी आमा भोक र अस्पतालले

चिथोरी रहेछ मलाई

यता डाक्टर नभेटिएर

बा चिच्याइरहनु भएको छ 

गणतन्त्रको शैली देखेर ।