• ७ जेठ २०८१, सोमबार

महायुद्धको भूगोलबाट (कविता)

blog

पखेटामा गन्तव्य सिउरिँदै

स्वतन्त्र उडिरहेकै छन् 

चराहरू

बिहानीको दैलो उघार्दै

उज्यालो छरिरहेकै छन्

घामका किरणहरू

ताराहरूको मालाले सिँगारिएको आकाशबाट

खसाइरहेकै छ धर्तीमा जुनले

सधैँझैँ दिव्य उज्यालो 


समय आक्रान्त बन्दै गएपछि 

अस्थिर बनेको छ मनभित्र

धैर्यको नदी


ब्याट्री सकिएको घडीका सुईझैँ

टक्क अडिएको छ मानव समुद्र 

कुँजिएका छन्

होम क्वारेन्टाइनको कारागारभित्र

कर्मशील पाखुरी  

गोठमै भुस चपाएर अघाउने

गाईवस्तु जस्तै 

निरीह बनेका छन्

बेफुर्सदिला पाइलाहरू


सखारै मान्छेलाई निद्राबाट ब्युँझाउँदै 

भाले बासेकै छ गाउँमा 

जलक्रीडाको उन्मादमा रमाउँदै

निर्वाध पौडिरहेकै छन् माछाहरू

नदी र तलाउहरूमा

रङ्गीन सपना 

देख्न छाडेका छन् आँखाहरूले

समृद्ध योजना बाँड्न छाडेका छन् कलमहरूले

छरपस्ट छन् बाल वृद्ध सबैका तिर्खाहरू

सुर तालविहीन बजिरहेका छन्

सारङ्गी र मुर्चुङ्गाहरू

अदृश्य शत्रुसँगको महायुद्ध लडिरहेछ 

यो भूगोल 

त्यो युद्ध मैदानमा 

पूर्ववत् रमाइरहेछन् पृथ्वीभरि

सारा प्राणीहरू 

 आक्रान्त देखिन्छ

मात्र सात अर्बको एउटा 

शक्तिशाली झुन्ड । 


मधुमारा, विराटनगर