• १३ पुस २०८१, शनिबार

कृतज्ञता (कविता)

blog

आर. मानन्धर

 तिमी र म जसै प्रेममा डुब्छौँ

कोठाभित्र आकाश नियाल्न आइसकेको हुन्छ

आहा, कोठा नै आकाश भइदिन्छ,

अँध्यारो आकाश !

हुन पनि प्रेमका लागि अँध्यारो नै आनन्द

कल्पनाका लागि अँध्यारो नै उपयुक्त !


तिम्रो कल्पनाले आकाशभरि तारा सजाइदिन्छ

मेरो कल्पनाले भुइँलाई सागरमा बदलिदिन्छ

सागरको मन्द मन्द लहरमा

तरङ्गित हुन्छौँ हामी !

आहा, कति रमाइलो

तारा सजिएको आकाशमुनि

लहराउँदो सागरमाथि

प्रेममा तल्लीन रहनु !


हामी दुई

एक–अर्कालाई

बेस्कन आलिङ्गनमा बाँधिरहेका हुन्छौँ

मन भने स्वतन्त्र पन्छी भई उडिरहन्छ

उँभो फर्केर तिमी आकाश माथि–माथि उड्दै गर्छौ

उँधो फर्केर म सागर भित्र–भित्र डुब्दै गर्छु !


ताराहरू छानी छानी

खेलिरहेकी हुन्छ्यौ तिमी

जसरी खेलेकी थिइन् कुन्तीले देउताहरूसित !


म सागरको भित्री गहिराइमा, तिमीलाई सुइँको नदिई

मत्स्यकन्याहरूसित खेलिरहेको हुन्छु

नागिनहरूसित नाचिरहेको हुन्छु !


प्रेमले नै त हो नि हामीलाई

कल्पनामा डुब्न सिकाएको !

सदासर्वदा बन्धित मानिसको

सदासर्वदा स्वतन्त्र कल्पना !

प्रेमको आनन्द भनेकै कल्पना त हो !


जसै सन्तुष्ट हुन्छौँ

एकअर्कोलाई

प्रेमले भरिएका आँखाले हेर्दै

तृप्तिको मुस्कान साट्छौँ

कृतज्ञता हो त्यो सायद

हामीले

एकआपसमा व्यक्त गरेको !