• १३ पुस २०८१, शनिबार

आखिरी इजलासमा (कविता)

blog

 रूपक श्रेष्ठ

पोतिएर सुनौला मन्त्रहरू 

वेद–वेदाङ्गहरूभरि, त्रिपिटकभरि 

तोरा, ताल्मड र पवित्र बाइबलभरि 

हाडीथभरि, कोरानभरि 

ब्रह्मवाणीहरू, बुद्धवाणीहरू

यिसु वचनहरू, मोहम्मद प्रवचनहरू

सत्य घोटाइरहन्छन्  

दया, माया र करुणा जगाउनू !

हत्या, आत्महत्या, र हिंसा नगर्नू !

मानव भएर मानवताको मूल मन्त्र जप्नू !

बाँच र बाँच्न देऊ !

सुमेरु विचारहरू 

मानवीय उत्थानका !


दिव्य वाणीहरू

सुनेर सदियौँदेखि 

घोकेर युगौँयुगसम्म पनि 

हामी भष्मासुरहरू, माज्दाहरू, अङ्गुलिमालहरूले 

“अहम् ब्रह्मस्मी !” भन्न सकेनौँ 

“अप्प दीप” बन्न सकेनौँ 

बरु  

पहिलो निसानी बनाएर तिमीलाई नै

सुक्दा नसुक्दै सुनका जलपहरू 

सुरु ग-यौँ 

खेल घात प्रतिघातको

र 

सदियौँदेखि हेलिँदैछौँ  

भोल्गाको भेगदेखि सिन्धुको तीरसम्म

जामजामको मुहानदेखि टिग्रिसको किनारासम्म 

नाइल जत्तिकै लामो

दिग्मिगाउँदो हिंसाका शृङ्खलाहरू !


भयानक ! 

झन–झन भयानक !

घृणित खेलहरूको उपज  

सगरमाथाको शिरदेखि प्रशान्तको तीरसम्म 

रक्ताम्य छ लालसागर 

पाप धुँदाधुँदै हाम्रो

बिचरा हिन्द, र आन्ध्रहरू 

उत्तरदेखि दक्षिणसम्म 

पश्चिमदेखि पूर्वसम्म 

उर्लिरहेका छन् छालहरू 

खुनका फाल्साहरू बोकेर  

अशान्त–अशान्त प्रशान्तहरू !

अनि 

म निथ्रुक्क छु लाजले 

देखेर हाम्रै कुरूप कर्तुत 

ए फरिस्ता,

कुन मुख देखाऊँ म

चित्रगुप्तको अगाडि 

आखिरी इजलासमा ?