• १३ पुस २०८१, शनिबार

दुखेको कुरो (कविता)

blog

छविरमण सिलवाल


धन्य, अहिलेसम्म 

मेची, महाकाली, 

तराईं र हिमाल साक्षी छन् ।

सगरमाथा र, 

नागरिकता पनि सद्दे छन् ।

तर 

बेलाबेलामा दुख्ने

टनकपुर, सुस्ता र 

लिपुलेकको घाऊ 

निको गर्नसक्ने 

कोही जन्मेनन् ।


दुःखेको कुरा अरू धेरै छन्

चार दिवारभित्र  

कैयौँ रित्ता पेट दुखिरहेका छन्

न्याय दुखिरहेका छन्

गरिबी र भोकमरी दुखिरहेका छन् 

क्रुरताका साथ भन्नु पर्दा

खाडीका वाफिला घाममा 

कठोर श्रम दुखिरहेका छन्

बाफिला घाममा होम्न बाध्य 

वात्सल्य र ममता दुखिरहेका छन् ।


यस्तैयस्तै दुःखमा कहिले नदुख्ने  

यहाँ एउटै छ 

सरकार 

आँखा देख्छन्

कान सुन्छन्

बोली सुनिन्छ 

फगत स्वार्थको 


ए ! ऊसँग मुटु पनि छ रे 

आफ्नो र आफन्तको 

चोटमा मात्रै दुख्ने ।


त्यसैले 

दुखेका धेरै घाउहरूको निष्कर्ष छ 

इतिहासले 

यिनीहरूको मुटु छाम्दा 

दुखेका मुटुहरूको पीडा 

केही शान्त हुँदो रहेछ । 

त्यतिबेला धर्तीलाई बेस्मारी दुख्दो रहेछ 

उनीहरूका लागि भएको बलिदान पनि 

तिनै दुःखेका घाउहरूकै हुँदो रहेछ ।