• १३ पुस २०८१, शनिबार

मानवकै उपकार, संस्कार ! (कविता)

blog

बद्रीप्रसाद दाहाल

ढासा ढर्र्रा अतिसय बढी चढ्न थाले विकार ।

के बच्लान् खै ? प्रचलन प्रथा दिव्य संस्कार सार ।।

बोझा थप्दै घरघर यहाँ ढोँगको ढोल बज्छ ।

राम्रा हाम्रा मुनिमत कठै ! खस्छ पाताल खस्छ ।।


सग्ला अग्ला हितकर प्रथा, भत्किँदै हप्किँदै छन् ।

खाना नाना उठबस सबै, ङिच्किँदै बिच्किँदै छन् ।।

फिल्मी शैली धनिक गणको, नक्कलै गर्न थाल्यौँ ।

हेर्दा हेर्दै पर लत पिई, स्वस्थ संस्कार फाल्यौँ ।।


मान्छौँ जन्मोत्सव अनि बिहे, नाम वा क्षौर कर्म ।

हाम्रा श्रद्धा तिथि व्रत सफा, मैलिँदै  छन् सुकर्म ।।

 खर्ची धेरै रकम अहिले दाइजो भोज  गर्दा ।

बन्लान् टन्टा प्रचलन प्रथा रीतमै प्रीत मर्ला ?


हाम्रा अग्ला ऋषि नियम ता लाग्न सक्नेछ खल्ला ।।

आस्था श्रद्धा निजपन प्रथा, बन्न सक्लान् कि तल्ला ?

घाँटी हेरी बुुझक जनले, खर्चमा ध्यान देऊ ।

हौसी हौसी प्रचलन प्रथा पुुग्नसक्ने छ छेउ ।।


झुम्का मुन्द्रा किलिप तिलरी स्वर्णका फूल बाला ।

औँठी सिक्री कमरबधनी  हार कल्ली छ सारा ।।

छाती कट्टी शिर पयर औ हात नारी सिँगारी ।

खर्चेका छन् धन मनपरी, ढोँग पाखण्ड भारी ।।


हेक्का गद्यौँ प्रबुधजन हो, फाल ढासा र ढर्रा ।

चर्को पत्रु अनुकरणले, मच्चिँदैछन् वितण्डा ।।

पाए हाम्रा मन मगजले शुद्ध संस्कार सार ।

तर्ने बन्छौँ भव– जलधिमा, लाग्नसक्ने छ पार ।।