• १३ पुस २०८१, शनिबार

आँसुको घाउ (कविता)

blog

मेरा जीवनका सम्पूर्ण सपनाहरूको

लाशले बनेको साँघुरो  गल्ली भएर 

मलाई भेट्न किन आयौ ?

पत्रकार !


तिम्रो समाचारमा आँशुको भाषा सम्प्रेषण हुन्छ कि हुँदैन 

घाउको संवाद तिम्रा पाठक, स्रोता  या दर्शकले बुझ्छन् कि बुझ्दैनन्

मेरो अनुहारमा हल्लिरहेको यो पृथ्वीको कम्पन 

तिम्रो समाचारमा अट्छ कि अट्दैन 


तिम्रो समाचारको विश्वासका लागि 

मेरो आवाज चाहिन्छ भने–

कुनै महापहिरो या कुनै महाचट्याङ पर्खी बस 

मेरो आवाजको सम्पूर्ण शक्ति 

पहिरो या महाचट्याङमा रूपान्तरित भइसकेको छ 

तिम्रो समाचारको बिक्री बढाउन 

मेरा आँशु चाहिन्छ भने–

महासागर उठाएर समाचारमा सम्प्रेषण गर 

मेरा आँशु  त्यहाँ भेट्नेछौ 


आफ्नै जीवनको भग्नावशेषबाट 

बाहिर निस्कन भगीरथ प्रयास गरिरहँदा 

मलाई भेट्न किन  आयौ ?

पत्रकार !


मेरो पीडा र विरूपपन खोज्न आएका हौ भने–

तिम्रो समाचारमा यो देश सम्प्रेषण गर 

मेरा पीडाका अनेक रूप 

अनि मेरा विरूपपनका अनेक रङ्गहरूले 

यो देश बनेको छ 


फुर्सदमा छ, कोही 

कोही कौसीमा घाम ताप्दै 

संवेदना प्रकट गर्ने अवसर खोजिरहेको छ 

अर्को कोही चोक या भट्टी दुकानमा 

हुन सक्छ, क्यासिनो र डान्सबारमा 

नयाँ कुरामा गफिन 

नपाएर हैरानी भएको छ 

अनि 

तिमी मलाई विषय बनाउन आएका हौ भने– 

सुन पत्रकार !

यही घरको भग्नावशेषभित्र 

मेरी आमा र बहिनी सुतिरहेका छन् 

यो माटो पन्छाउँदै आमा र बहिनी खोज्दै छु 


यही भत्किएको घरभित्र छन् 

कुनै दानी शिक्षकले दिएका मेरा पुराना  पुस्तक 

कुनै साहुले दिएको नयाँ चप्पल 

कुनै धर्म प्रचरकले दिएको 

ईश्वरको शक्तिका बारेको धर्मग्रन्थ

ऋणका तमासुक पनि 

यही घरमा पुरिएका छन् 


बाको कुहिएको शरीरबाट 

आएको गन्धले यो ठाउँ 

मलाई झनझन प्रिय लागिरहेकोे छ 

सरकार भन्छ– 

यहाँ लास गनाउँछ 

यहाँ सङ्क्रमण फैलिन्छ 


पत्रकार तिम्रो सरमाचारमा 

मानिसको जीवनको गन्ध 

अनि मानिसको सपनाको सङ्क्रमण 

अटाउँछ कि अटाउँदैन 


आँशुको घाउ 

सरकारलाई दुःखेको मैले आजसम्म देखेको छैन 


सुन त पत्रकार 

मेरो हाँसो पनि तिमीलाई चाहिन्छ भने 

झुक्किएर म हाँस्दा 

कुनै विदेशी पर्यटकले 

खिचेको तस्बिर मसँग सुरक्षित छ ।