• २८ वैशाख २०८१, शुक्रबार

देश आज [कविता]

blog

दोहोरो भूमिकामा छ देश

दोहोरो भूमिका छ नेतृत्व

र, दोहोरै भूमिकामा छन् मानिसहरू ।


बहालवाला मन्त्री

आफ्नै कार्यकर्ता उचालेर

सडकमा प्रहरीमाथि ढुङ्गा बर्साउन व्यस्त छ

एउटा क्रान्तिकारी दाजु

सगौरव

आफ्नै भाइबहिनी स्कुल जाने बाटो भत्काउन अभ्यस्त

 छ

यी सबैका नायक

देशका उच्च आसनमा मग्नास्त छन् ।


देश कौडीको भाउमा जडीबुटी निर्यात गर्छ

र सुनको भाउमा आयात गर्छ औषधि

बेचेर धान किन्छ चामल

जलस्रोतको धनी भनेर

गौरव गर्नै लाग्दा देशले

जुठेल्ना छेउबाट धाराले जिस्क्याउँछ

दलिनबाट बल्बले गिज्याउँछ ।


सडकको कालोपत्र

सम्बन्धित निकायको अनुहाभरि टाँसिएर हाँस्छ

टेबुलमुनिबाट खित्का छोड्छ भ्रष्टाचार

सेवाग्राहीलाई झुलाएर

आफ्नो पुरुषार्थ प्रदर्शन गर्छ कर्मचारीतन्त्र

जनप्रतिनिधि–

डोजरको मोलमोलाइमा व्यस्त छ

एउटा नेता गौरवका साथ

मेरो ‘पेसा’ राजनीति हो भन्छ ।


युवा विद्यार्थी

झोलामा ढुङ्गा भरेर हिँड्छ

भविष्यका नाममा

उसका आँखामा विदेश सपनाबाहेक केही छैन ।


जान्दिनँ देश धनी छ या गरिब

मेरो देश आज

सुनको कचौरामा भिख मागिरहेछ ।