• २ मंसिर २०८२, मङ्गलबार

मध्यवर्ती वनले ल्याइदियो परिवर्तन

blog

जङ्गल सफारीका क्रममा कुमरोज वनमा देखिएको गैँडा । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

नारायणगढ, मङ्सिर २ गते    ।  ४० को दशकमा सिङ्गो बस्तीलाई नै राप्ती नदीमा आएको बाढीले लगातार बगाउन थाल्यो । यो व्रmम ५० को सुरुवातसम्म चलिरह्यो । बाढीले जनधनको ठुलो क्षति मात्रै गरेन, यसले पूर्वी चितवन कुमरोजका बासिन्दाको उठिबास नै लगायो । हरेक वर्ष जसो आइरहने बाढी रोक्न स्थानीयले वृक्षरोपण गर्नैपर्ने उपाय निकाले ।

स्थानीयवासी मिलेर बाढीको कटान रोक्न गरेको वृक्षरोपण क्रमशः घना जङ्गलमा परिवर्तन भई ‘कुमरोज मध्यवर्ती सामुदायिक वन’ का नाममा वार्षिक करोडौँ रुपियाँ आम्दानी गर्न सफल होला भन्ने विश्वास वनका अध्यक्ष राजु सिलवाललाई त्यो बेला कत्ति पनि लागेको थिएन । ३२ वर्षअगाडि (विसं २०५० मा) छ बिघा जमिन राप्तीको बाढीले बगाएका सिलवाल आफूहरू बिचलित नभई वनको संरक्षणमा नियमित लागेको बताउनुहुन्छ । 

“हामी कुमरोजवासीको संरक्षणप्रतिको निरन्तरताको फल हो, अहिले मध्यवर्ती वन हराभरा हुनु र यहाँ रहेका वन्यजन्तु र वन हेर्न पर्यटकसमेत लोभिनु,” अध्यक्ष सिलवालले भन्नुभयो, “यहीँ पर्यटक आएका छन् र वनले नियमित आम्दानी गरिरहेको छ । गएको आर्थिक वर्षमा मात्रै चार करोड ५६ लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । यो आम्दानी यस वर्ष सात करोड रुपियाँ पुग्ने विश्वासमा छौँ ।” वनले अहिले जिप, हात्ती, डुङ्गा सफारी, पर्यटक प्रवेश शुल्क, मचान शुल्क, कफी सप जस्ता गतिविधिमार्फत आम्दानी गर्दै आएको छ । 

कुमरोज मध्यवर्ती सामुदायिक वनलाई अहिलेको अवस्थामा ल्याउन गरेको सङ्घर्र्षको कथा आफ्नै छ । पूर्वी चितवनमा रहेको खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा फैलिएको यो वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कारणले पनि अझै महŒवपूर्ण बनेको हो । खैरहनी–१३ का वडाध्यक्ष कुलप्रसाद भुसाल सुरुमा बाँस रोपेर संरक्षण सुरु गरिएकोमा पछि अन्य बिरुवा रोपेको जानकारी दिनुहुन्छ ।  

“लगातारको बाढीले दुःख दिएपछि बाढी रोक्न सुरुमा बाँस लगायौँ । बिस्तारै सिसौ, भेलरलगायतका विरुवा पनि लगाउँदै गयौँ । अहिले त्यही वन ठुलो भएर बाघ, गैँडा जस्ता जनावर आएर बस्न थालेका छन्,” उहाँले भन्नुभयो, “यहाँ अहिले ५० प्रजातिका जनावर, ३५० प्रजातिका चराचुरुङ्गी, विभिन्न जातका वनस्पतिसहित घाँसे मैदान छ । जङ्गली जनावर प्रशस्त देखिन थालेपछि पर्यटकले अवलोकन गर्न थालेका छन् ।” 

विसं २०४१ देखि २०५० सम्म बाढीले दुःख दिँदा सयौँ बिघा जमिन डुबान र सयौँ घरपरिवार विस्थापित भएका अध्यक्ष सिलवाल बताउनुहुन्छ । “बाढीबाट विस्थापित धेरै त पछि फर्किए तर १५० घरपरिवारलाई २०४३ सालमा स्थानान्तरण गरी खैरेनी नगरपालिका–२, सिमरामा राखिएको थियो,” उहाँले भन्नुभयो । सुरुमा हामीले सय बिघा जग्गामा वृक्षरोपण गरेका थियौँ । बिस्तारै एक हजार हेक्टर पु¥याएका छौँ । २०४५ मा तराई वनको अवधारणा आएसँगै समुदायस्तरबाट वन संरक्षण हुन थाल्यो । २०४७ बाट वन दर्ता सुरु गरियो । २०५३ मा जिल्ला वन कार्यालयमा दर्ता भई उपभोक्ता समितिका नाममा संरक्षण सुरु भएको थियो । यही वन पछि मध्यवर्ती ऐन अन्तर्गत २०५९ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा दर्ता भई पर्यापर्यटनको काममा लागेको अध्यक्ष सिलवाल बताउनुहुन्छ । 

आम्दानी संरक्षणसँगै विकासमा

वनको आम्दानीबाट वन संरक्षणसँगै सामाजिक विकास, पर्यटन व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, विद्यालय, मठमन्दिर, बाटो, सुत्केरीलाई अनुदान, किसानलाई दुधमा अनुदान, जनचेतना कार्यव्रmमलगायतमा खर्च गरिएको छ । अध्यक्ष सिलवाल भन्नुहुन्छ, “सबैको साथ र समन्वयबाट वनले अझै धेरै समुदायलक्षित कार्यव्रmम गर्न सकेका छौँ । यही नै ठूलो उपलब्धि हो ।”

खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्त वडाले गर्न नसकेको विकासका योजना वनले गरिरहेको बताउनुहुन्छ । “विद्यालयलाई बजेट चाहियो । सामुदायिक वन, पुलपुलेसा बनाउनुपर्दा वनको आम्दानीले राम्रो सहयोग पुगेको छ,” उहाँले भन्नुभयो । पर्यटन प्रवर्धनका सवालमा सिङ्गो चितवनले लाभ लिने गरी सरसफाइ, सुरक्षा, संरक्षण र पर्यापर्यटनमा एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त कुमरोज मध्यवर्ती सामुदायिक वनको गुणात्मक पर्यटन प्रवर्धनमा जोड दिनुहुन्छ । उहाँ थप्नुहुन्छ, “संरक्षणमार्फत विकास एवं मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न यो वन ‘रोल मोडल’ का रूपमा अगाडि आएको छ ।”