• १२ पुस २०८२, शनिबार

‘महासंघको संस्थापक अध्यक्षको इतिहास स्थापित गराउन लाग्छु’

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गोरखापत्रकर्मी प्रकृति अधिकारीलाई सम्मानित गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने पत्रकारकै इतिहास मेटिनु गलत भएको बताउँदै उहाँले संस्थापक अध्यक्षको इतिहास स्थापित गराउनमा आफूले पनि भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको छ । 

नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा शनिबार गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको विषयमा चर्चा गरिएको छ । मन्त्री खरेलले सत्य र तथ्य दस्ताबेज प्रस्तुत गर्न आह्वान गर्नुभयो । वास्तविक तथ्य उपलब्ध भएको अवस्थामा सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउने क्षेत्रमा आफूले पनि पहल गर्ने मन्त्री खरेलले आश्वासन दिनुभएको छ। 

त्यस्तै, सत्यनारायणबहादुर श्रेष्ठकी कान्छी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । तत्कालीन दरबारसँगको सम्बन्धकै कारणले निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नुभएका श्रेष्ठ बहुुदलीय प्रजातन्त्र पश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गर्नुभएको अनुभव सुनाउनुभएको थियो । 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठको ११० औं जन्मजयन्तीको अवसरमा सम्पन्न भएको कार्यक्रममा सञ्चारकर्मीद्वय प्रकृति अधिकारीलाई पुरस्कृत र रामकृष्ण कर्माचार्यलाई सम्मान प्रदान गरेको छ। अधिकारीलाई सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ प्रदान गरिएको छ। गोरखापत्र राष्ट्रिय दैनिकका उपसम्पादक अधिकारीलाई नगद राशी २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । 

त्यस्तै सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ बाट श्रेष्ठका सहकर्मी वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गरेको थियो । 

कार्यक्रममा तेस्रो मिडिया कप फुटसल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र ललितपुरकै महिला पत्रकारलाई उत्कृष्ट भएबापत प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरिएको छ । 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवा पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएका छन् । श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ । 

फुटसल प्रतियोगितामा पत्रकार, कलाकार तथा अन्य पेशागत संघ संस्थामा आवद्ध रहेका १० वटा खेलप्रेमीहरुको टिमले सहभागिता जनाएको फुटसलतर्फका संयोजक प्रजित शाक्यले बताउनुभयो । पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरी, ललितपुर महानगरपालिका वडा ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, तामाङ पत्रकार संघका प्रतिनिधि, ताम्राकार समाजका प्रतिनिधिदेखि सञ्चारकर्मीहरुको उलेख्य सहभागिता थियो ।