• १२ पुस २०८२, शनिबार

उपचारमा नआउँदा जीवनभर औषधी

blog

काठमाडौँ, पुस १२ गते । बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो । 

काठमाडौँ चाबहिलकी तुलसा थपलियालाई बाथरोग लागेको १७ वर्ष भइसक्यो । बाथरोग उपचारका लागि पटक पटक भारतका अस्पतालसमेत चहार्नुभएकी थपलियालाई जाडो महिना सुरु भयो कि बाथरोगले थला पार्ने गरेको छ । “बाथरोगका लागि भारतमा गएर लाखौँ रुपियाँ खर्च गर्दा पनि ठिक भएन,” थपलियाले भन्नुभयो, “बाथरोग ठिक हुने रोग होइन रहेछ ।” हाल थपलियाले रातोपुलस्थित बाथरोग केन्द्रमा चिकित्सकको निरन्तर फलोअपमा बसेर औषधी सेवन गरिरहनुभएको छ । “बाथरोगले जाडो महिनामा असाध्यै दुःख दिने गरेको छ,” थपलियाले भन्नुभयो, “जाडोमा बाथरोगले हातखुट्टा कक्य्राककुक्रुक पार्छ ।” उहाँले हाल मासिक १० हजारको औषधी सेवन गरिरहनुभएको छ । 

वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले नेपालमा पछिल्लो समय बाथरोगका बिरामी बढ्दै गएको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल जनसङ्ख्याको १० प्रतिशतमा बाथरोग समस्या छ । तर नेपालमा अन्य रोग जस्तो बाथरोगले प्राथमिकता पाउन सकेको छैन । किनभने बाथरोगले तत्काल क्यान्सर, मिर्गौला, मुटुरोग जस्तो असर गर्दैन । जिन्दगीभर औषधी सेवन गरेर पनि बाँच्न सकिन्छ । त्यही भएर पनि बाथरोग प्राथमिकतामा नपरेको हो ।

सरकारी अस्पतालमा समेत बाथरोगीलाई फिजिसियनबाट उपचार गराउने गरिन्छ । बाथरोग विशेषज्ञ भनेर हालसम्म सरकारी अस्पतालमा कुनै दरबन्दी रहेको छैन । जनसङ्ख्याको १० प्रतिशतलाई कुनै न कुनै किसिमको बाथरोग भए पनि त्यसको पहिचान हुन नसक्दा बाथरोगी उपचारको पहुँचमा आउन सकेका छैनन् । 

डा. वैद्यले नेपालमा ३० लाख बाथरोगी रहेको जानकारी दिनुभयो । उहाँले सरकारीस्तरमा बाथरोगसम्बन्धी उपचार हुन नसक्दा प्राथमिकता पाउन नसकेको बताउनुभयो ।

उहाँका अनुसार बाथरोग केन्द्रले गरेको अनुसन्धानमा गाउँमा ३० प्रतिशत र सहरमा १० प्रतिशतलाई कुनै न कुनै किसिमको बाथरोग रहेको छ । डा. वैद्यले बाथरोग एक सयभन्दा बढी किसिमका हुने गरेको भए पनि हड्डीको बाथ, लुपस, नसाको बाथ धेरै देखिने जानकारी दिनुभयो । 

उहाँले बाथरोग सुरुमै पहिचान गर्न सके निको हुने र औषधी निश्चित अवधि सेवन गरे पुग्ने भएका पनि जटिल किसिमको बाथरोगलाई पूर्ण निको भने पार्न नसकिने जानकारी गराउनुभयो । 

अर्का बाथरोग विशेषज्ञ डा. सुदीप कर्माचार्यले हरेक बाथरोग जटिल हुने भएकाले जाडो मौसममा बाथरोगले असर गर्ने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि बाथरोग उपचारमा समस्या भएको बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाथरोगसम्बन्धी चिकित्सकको सरकारी दरबन्दी कम रहेको बताउनुभयो । बाथरोगसम्बन्धी दरबन्दी नहुँदा प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ छ । उहाँले सरकारी निकायमा बाथ मात्र नभएर अन्य रोगका विशेषज्ञसमेत कम रहेको जानकारी दिनुभयो । 

नेसनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले सरकारको प्राथमिकतामा नपरेको बाथरोग उपचारमा निजी क्षेत्रबाट प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँले बाथरोग सेन्टरले देशका प्रमुख सहरमा शाखा स्थापना गरेर ती शाखाबाट बाथरोगका बिरामीको उपचार गराइरहेको जानकारी दिनुभयो । उहाँले बाथरोगले शरीरका सबै अङ्गलाई हानि गर्ने भएकाले यसबारे सचेत हुनुपर्ने बताउनुभयो । 

बाथरोगका लक्षणमा हातका औँला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेलामा हातखुट्टा अरट्ठो हुने, गोलीगाँठो, घुँडा दुख्ने वा सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहानको समयमा ढाड अररो हुने, पिडौला दुख्ने वा करकर खाने, खुट्टाका बुढीऔँलावरिपरि रातो भएर टेक्न नहुने, कुर्कुच्चा दुख्ने, जिउ गल्ने तथा छिटो थकान हुने, मांसपेशी कमजोर हुने, चिसोमा काम गर्दा हातखुट्टा नीलो हुने बाथरोगका लक्षण हुन् । 

नेपालमा ¥युमाटाइड आरथ्राइटिस, ढाडको बाथ, लुपस, छाला बाक्लो हुने बाथ, जोनी खिइने बाथ ओस्टियो आरथ्राइटिस बाथ, युरिक एसिडको बाथ, केटाकेटीमा हुने बाथरोग प्रमुख रूपमा लाग्ने गरेको पाइएको छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।