काठमाडौँ, पुस १२ गते । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ । शनिबार सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिइएको हो ।
‘खेलाडीको वृद्धि, विकास, हौसला अभिवृद्धि गर्ने उद्देश्यले एकै ठाउँमा प्रशिक्षण गरिएको हो’, राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठले भन्नुभयो, ‘यस कार्यक्रमले विद्यालय स्तरका खेलाडीलाई सही मार्गदर्शन, प्रेरणा र राष्ट्रिय टिम सम्म पुग्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास लिइएका छौँ ।’
हरेक शनिबार निरन्तर रूपमा निःशुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको र सहभागी सम्पूर्ण खेलाडीहरुलाई निशुल्क च्याम्पियनहरुको हस्ताक्षर सहितको टिसर्ट प्रदान गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम पोखरेलले जानकारी दिनुभयो।
विद्यालय स्तरका विद्यार्थी भाई बहिनीहरु सङ अनुभव साझा गर्न पाउँदा आफुलाई खुशी लागेको कराते स्टार खेलाडी एरिका गुरुङले बताउनुभयो ।
प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, स्टार खेलाडी एरिका गुरुङ, सानुमाया थिङ,स्वनिम मानन्धर,महमद सेखु आलाम,राष्ट्रिय टिमका क्याप्टेन सन्तोष श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।
हाल उपत्यका लक्षित गरिएको कार्यक्रम आवश्यकता अनुसार सातै प्रदेशमा गरिने पनि आयोजकले जनाएको छ।