• १२ पुस २०८२, शनिबार

उच्चस्तरीय राजनीतिक संवादमा सरकार

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १२ गते । सरकारले फागनु २१ गतेका लागि तोकेको निर्वाचनका वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार तीन वटै दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ भने आज निर्वाचनको अन्तिम तयारी तथा दलहरूबिचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्नुहुने छ । 

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताबिच छलफल भएपछि सरकारले अझै सघन संवाद आरम्भ गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवाद गर्नुभयो । उहाँहरूको भेट निर्वाचन सफल बनाउन माहोल सिर्जना गर्ने विषयमै केन्द्रित रहेको बताइएको छ । 

तीन दलका शीर्ष नेताकै निवासमा पुगेर भेटवार्ता गरेपछि सञ्चारमन्त्री खरेलले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पार्नुभयो । उहाँले निर्धारित मितिमै प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभयो । मन्त्री खरेलले  निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रूपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर पहलकदमी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ । तीन ठुला दलका शीर्ष नेताले भेटका क्रममा निर्वाचन हुनु पर्छ भन्ने स्पष्ट धारणा राख्नुभएको छ । त्यसैले फागुन २१ गते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन् ।”

उहाँका अनुसार संसद् पुनस्र्थापनाका लागि कांग्रेसका सांसदहरूले अदालतमा मुद्दा हाले पनि सभापति देउवाले निर्वाचन प्राथमिकता भएको र संसद् पुनः स्थापना प्राथमिकता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले निर्वाचनको विकल्पै छैन भन्नुभएको छ । एमाले अध्यक्ष ओलीले पनि निर्वाचनका लागि वातावरण बनाउनु पर्छ भनेर चासो देखाउनुभएको छ ।” संयोजक प्रचण्डसँग भेटपछि सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रूपमा अघि बढाइरहनुभएको जानकारी दिनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो । त्यस क्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषका बिच वार्ता भएको छ ।” 

उहाँले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने र वार्ता र छलफललाई लगातार अघि बढाइरहेको स्पष्ट पार्नुभयो ।