- काठमाडौँ जिल्ला प्रशासनमा ‘पीएएस प्रणाली’ शुभारम्भ
काठमाडौँ, पुस ११ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका सबै खाले मानकहरूमा परिपक्व बन्दै सबै क्षेत्रमा खरो र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिनुभएको छ।
शुक्रवार साँझ काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पहिले पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल ‘सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) पास’ एवम् टोकन प्रणालीको शुभारम्भ गर्नु हुँदै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गर्नु भएको हो।
कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिनु भएको हो।
उहाँले यो अन्तरिम सरकार बनेको जेनजी जन आन्दोलनको जगबाट नै भएकोले जुन जगबाट यो सरकार उठाएऔं त्यो जगलाई अझ बलियो र संस्थागत गर्नु बाहेक अर्को कुनै विकल्प अब छैन।
यस्तै, उहाँले जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयम् नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किन भने यो आन्दोलनलाई अरू देशका जेनजी पुस्ताले पनि अनुसरण गर्न थालेका छन्।
‘जेनजी पुस्ताले जन–आन्दोलनबाट देखाएको अग्रसरता र नेपालमा यो परिवर्तन जुन भएको छ र यसलाई हामीले हाम्रो सही आचरणबाट संस्थागत गर्न सक्यौँ र व्यवहारमा देखाउन सक्यौँ भने नेपाल वास्तवमै जेनजी आन्दोलनको गुरु राष्ट्र बन्न सक्छ’ उहाँले भन्नु भयो।
जेनजी पुस्तालाई सुझाव दिँदै उहाँले भने यदि नेपाललाई गुरु राष्ट्र बनाउने हो भने सुशासनका सबै मानकहरूको बारेमा पनि नव पुस्ताले त्यसलाई अभ्यास गर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्न र राजनीतिको र राज्य संयन्त्रका मूलधारमा पनि आउन मन्त्री अर्यालले सुझाव दिनुभयो। आजबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुरु भएको ुपीएएसु प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पुर्याएको बताउनु भयो। एस प्रणाली पनि अहिलेको जेनजी पुस्ताले खोजेको रोजेको र चाहेको जस्तै प्रणाली हो जुन उनीहरूले यो आन्दोलनको सुरुवातदेखि नै सपना देख्नु भएको थियो, मन्त्री अर्यालले भन्नु भयो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधि मात्रै र सेवाग्राही मैत्री सेवाको सुरु गर्न पाउँदा ज्यादै खुसी लागेको बताउनु भयो।
यस प्रणाली मार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालय भित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजू गरिसके पछि उनीहरूले लिन चाहेको सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटो छरितो र झन्झटरहित सेवा लिन सकिने बताउनु भयो।
यस्तै, कार्यक्रममै गृहमन्त्री अर्यालले उहाँको कार्यकाल आज बाट १०० दिन पुगेको जानकारी दिनुहुँदै, यस अवधिमा आफू नेतृत्वको मन्त्रालयले सम्पन्न गरेका केही प्रमुख कार्यहरु सार्वजनिक गरिएको समेत जानकारी दिनुभयो। यस अवधिमा मन्त्रालयले झन्डै ५० भन्दा बढी प्रमुख कार्यहरुमा जेनजी पुस्ताका भावना र उनीहरुको अधिकार, कानुनी र सेवा सुधार, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सुशासनका पक्षमा आफूले उल्लेख्य काम गरेको बताउनु भयो।