प्रतीक इच्छुक शर्मा
सल्यान, पुस ११ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
पार्टी बैठकको निर्णयअनुसार प्रत्यक्षतर्फ सिफारिस गरिएका उम्मेदवारहरूमा प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, रमेश मल्ल, धनबहादुर परियार र सीता विष्ट बस्नेत हुनुहुन्छ ।
युवा नेता तथा साबिक एकीकृत समाजवादी सल्यानका जिल्ला अध्यक्ष रमेशकुमार गौतमले प्रत्यक्षतर्फ दलित कोटाबाट धनबहादुर परियार र महिला कोटाबाट सीता विष्ट बस्नेतलाई सिफारिस गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार समानुपातिकतर्फ खस आर्यबाट उमाकान्त शर्मा, दलितबाट पवित्रा विक, जनजातिबाट प्रमोदकुमार श्रेष्ठ र महिलाबाट प्रेमा अधिकारीलाई सिफारिस गरिएको छ।
यस्तै राष्ट्रिय सभातर्फ रत्नबहादुर वलीको नाम सिफारिस गरिएको छ।प्रत्यक्षतर्फ सिफारिस भएका प्रकाश ज्वाला सल्यान जिल्लाबाट पटकपटक निर्वाचित हुँदै आउनुभएका अनुभवी नेता हुनुहुन्छ ।
उहाँ २०७९ मा प्रतिनिधिसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य, २०७० मा संविधानसभा सदस्य तथा २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।
२०५१ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका ज्वाला २०५१ र २०६४ सालको निर्वाचनमा भने पराजित हुनुभएको थियो । उहाँ पूर्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएको छ ।
हाल उहाँ दुई पार्टी संयोजन समितिको कार्यदल सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।त्यसैगरी नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत पनि अनुभवी राजनीतिज्ञ हुनुहुन्छ । ।
उहाँ २०७४ मा प्रतिनिधिसभा सदस्य, २०६४ मा पहिलो संविधानसभा सदस्य, २०७० मा दोस्रो संविधानसभा सदस्य तथा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद सदस्यका रूपमा कार्य गरिसक्नुभएको छ ।
रमेश मल्ल युवा पुस्ताका नेता हुनुहुन्छ ।उहाँ विभिन्न समयमा मन्त्रीका स्वकीय सचिवका रूपमा कार्यरत रहनुका साथै तत्कालीन माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का अध्यक्षसमेत भइसक्नुभएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनले स्वकीय सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । हाल मल्ल नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएको छ ।
प्रत्यक्षतर्फ सिफारिस भएका धनबहादुर परियार र सीता विष्ट बस्नेत भने अहिलेससम्म कुनै पनि राजकीय पदमा सहभागी हुनुभएको छैन ।