विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २३ गते । सप्तरीको तीन छुट्टा छुट्टै स्थानमा सोमबार राति विभिन्न समयमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । तीनवटै स्थानमा भएको आगलागीबाट छ लाख ७३ हजार पाँचसय रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नम्बर ४ स्थित रामदेव चौधरीको टिनको छानो भएको गाई गोठमा आगलागी भई गोठसहित सो भित्र रहेको काठपातहरु जलेर नष्ट हुँदा तीनलाख पचास हजार बरारबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै महदेवा गाउँपालिका वडा नम्बर ४ मनियार प्रसाही टोल बस्ने ४० वर्षीय बैजनाथ सदाको फुसको गोठ घरमा बालेको घुरबाट अचानक आगलागी भएर एक लाख ७३ हजार पाँस चय बराबरको क्षति भएको छ ।
गोठ घरमा रहेको काठपात, चामल, गहुँ, भैंसी पाडी समेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।
त्यस्तै, डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ बिसहरिया टोलस्थित ७१ वर्षीय भागवत साहको गोठ घरमा घुरबाट आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको छ ।
आगलागीमा गोठ घर सहित चामल, खसि, बाख्रा, मोटर लगायतका सामानहरु जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।