• १२ पुस २०८२, शनिबार

राज्यको ओतमा ज्येष्ठ नागरिक

blog

काठमाडौँ, पुस १२ गते । ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शुक्रबार मनाइयो । ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएकाले राज्यले हरेक क्षेत्रमा उनीहरूप्रति सम्मानसहित सेवा सुविधा थप्ने प्रयत्न गर्दै आएको छ ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा अर्थमन्त्री भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षाको प्रत्याभूति गर्दै मासिक एक सय रुपियाँ भत्ता विनियोजन गरेर राज्यका तर्फबाट सामाजिक सुरक्षा कार्यक्रम सुरुवात भएको थियो । २०५१ पुस ११ गते ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु भएको थियो । सोही दिन पारेर हरेक वर्ष राज्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ । 

पछि सरकारले तीन आर्थिक वर्षसम्म ६८ वर्ष पुगे सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेको थियो । हाल सरकारले ७० वर्ष पुगेका हरेक ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सामाजिक सुरक्षा शाखा प्रमुख विजयकुमारी प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म कुल १६ लाख २४ हजार ३७९ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिएका छन् । 

“आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ तीन आर्थिक वर्षसम्म ६८ वर्ष पुगे वृद्धभत्ता पाउने व्यवस्था थियो । चालु आर्थिक वर्षमा फेरि ७० वर्ष पुगेपछि वृद्धाभत्ता पाउने व्यवस्था गरियो,” उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र भए मात्र ज्येष्ठ नागरिकले भत्ता पाउने व्यवस्था भएपछि भत्ता लिनेको सङ्ख्या घट्यो । सबै डाटा व्यवस्थित भएपछि ९५ हजार ४२१ जना घटे ।” 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निर्मला कार्की ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण गरिँदै आएको बताउनुहुन्छ । ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ता मात्र नभई राज्यले एक लाख प्रिमियमसहितको स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । त्यस्तै अल्जाइमरपीडित ज्येष्ठ नागरिकको औषधी उपचार खर्चबापत मासिक पाँच हजार रुपियाँ दिने व्यवस्था भएको उहाँले बताउनुभयो । 

राज्यले ७० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै ६० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधनमा र नेपाल वायु सेवा निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट दिँदै आएको छ । कैद सजाय भोगिरहेका ज्येष्ठ नागरिकलाई पनि उमेर र कसुर हेरी ६५ देखि ७० वर्ष उमेरकालाई २५ प्रतिशत छुटको व्यवस्था छ । ७० देखि ७५ वर्ष नाघेकालाई ५० प्रतिशत छुटको व्यवस्था छ । ज्येष्ठ नागरिकका नाममा भएको चलअचल सम्पत्तिमा समेत भोग गर्ने विशेष अधिकार प्रदान गरिएको छ । हरेक स्थानीय तहले वृद्ध भत्तामा थप गरेर रकम दिनुका साथै अन्य स्वास्थ्य र सुरक्षाका कार्यक्रम गर्दै आएका छन् । राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेपछि समाज र घरपरिवारमा समेत उनीहरूको आत्मसम्मान बढेको उपसचिव कार्की बताउनुहुन्छ । 

नौ प्रकारका भत्ता 

सरकारले ज्येष्ठ नागरिक (७० वर्ष) सहित विभिन्न समूहका नागरिकहरूलाई भत्ता उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिक एकल महिला (६० वर्ष), ज्येष्ठ नागरिक तोकिएका क्षेत्र (६० वर्ष, ज्येष्ठ दलित ६० वर्ष) सहित विधवा, अपाङ्गता भएका, लोपोन्मुख र बालबालिका गरेर नौ प्रकारका भत्ता उपलब्ध गराउँदै आएको पञ्जीकरण विभागकी शाखा प्रमुख प्रसाईले बताउनुभयो । “सरकारले भत्ताको नाममा वार्षिक कुल एक खर्ब ९ अर्ब खर्च गर्दै आएको छ । ज्येष्ठ नागरिकका नाममा मात्रै ७८ अर्ब ८६ करोडभन्दा बढी खर्च हुन्छ,” उहाँले भन्नुभयो ।

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।