लक्ष्मी तिमिल्सेना
जमुनाह, पुस ११ गते । स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको बक्ताहरुले बताएका छन् । नेपालगञ्जमा आज आयोजित नीति संवाद तथा कार्यशाला गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगञ्ज–बाँकेको ओजमा आयोजित कार्यक्रममा नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको अर्थपूर्ण भूमिकामाथि छलफल गरिएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता र नवप्रवर्तनमा युवाको संलग्नताले स्थानीय अर्थतन्त्र मजबुत बन्ने धारणा राखेका थिए । युवालाई सीप, प्रविधि र लगानीमा पहुँच दिन सके स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग सम्भव हुने उनीहरूको भनाइ थियो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा प्रतिष्ठान नेपालको आयोजनामा तथा लुम्बिनी प्रदेश योजना आयोगको सहकार्यमा सम्पन्न गोष्ठीमा प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, शिक्षाविद्, नीति विज्ञ र विद्यार्थीको सहभागिता थियो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारी, अर्थशास्त्री डा. सुदनकुमार ओली र योजना आयोग लुम्विनी प्रदेशका पूर्व उपाध्यक्ष डा. नहकुल केसीले स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवाहरुलाई प्रविधिमा र अर्थ क्षेत्रमा बढाउन सकिने आवद्धताबारेमा तथा सम्भावनाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
विश्वविद्यालयका उप–कुलपति विनोदकुमार ढकालले सरकारले यहि समयमा सुचना प्रविधिबाटै १० खर्ब विदेशी मुद्रा भित्र्याउने लक्ष्य लिएको जानकारी दिनुभयो । गोष्ठीबाट प्राप्त सुझावहरू आगामी नीतिगत प्रक्रियामा समेटिने आयोजकले जनाएको छ ।