• १३ पुस २०८१, शनिबार

तारानाथ शर्माको साहित्येतिहास लेखनकला

blog

तारानाथ शर्मा (जीवनकाल : वि.सं. १९९१ असार ९–२०७८ फागुन ३) नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन् । इलामको बरबोटेमा प्रजापति उपाध्याय र देवकीका जेठा छोराका रूपमा उनको जन्म भएको थियो । उनले नेपाली साहित्यका निबन्ध, यात्रासाहित्य, उपन्यास, समालोचना र साहित्येतिहास विधामा आफ्नो सिर्जनात्मक सक्षमता, समालोचनात्मक दृष्टि र साहित्येतिहास चेतना प्रस्तुत गरेका छन् । नेपाली भाषाको व्याकरण लेखन तथा संरचनागत व्यवस्थानिर्माण अभियानमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ । साहित्यिक कृतिको सम्पादन, पत्रपत्रिकाको सम्पादन तथा विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद गर्ने कार्यमा पनि उनले विशिष्ट योगदान गरेका छन् । विभिन्न तहका पाठ्यपुस्तकलेखन पनि उनका लेखनीको एउटा पाटो हो । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका शर्माका जीवनको मुख्य पेसा प्राध्यापन र लेखन रहेको देखिन्छ । झर्रोवादी आन्दोलन र त्यसको प्रभाव रहेको समयसम्म ‘तानासर्मा’ नामले परिचित उनको लेखकीय जीवन समग्रतः सफल र उर्वर रहेको देखिन्छ ।

दार्जिलिङबाट निस्कने साथी साप्ताहिक पत्रिकामा प्रकाशित ‘इलाम’ शीर्षकको निबन्ध तारानाथ शर्माको पहिलो प्रकाशित साहित्यिक रचना हो । बनारसमा अध्ययन गर्दै गर्दा बालकृष्ण पोखरेल, चूडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाल आदिसँग मिलेर नौलो पाइलो (२०१३) पत्रिकाका माध्यमबाट झर्रोवादी अभियान सञ्चालन गरी नेपाली भाषाको संरचनागत व्यवस्था निर्माणमा महŒवपूर्ण भूमिका खेलेका शर्माका हालसम्म एक सयभन्दा बढी सङ्ख्यामा कृतिहरू प्रकाशित छन् । उनले बेलायततिर बरालिँदा (२०२६) कृतिका लागि मदन पुरस्कार र सम र समका कृति (२०२९) कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका छन् । उनका समालोचनासँग सम्बद्ध कृतिहरू– घोत्ल्याइँहरू (समालोचना सङ्ग्रह : २०२१), पश्चिमका केही महान् साहित्यकार (समीक्षात्मक जीवनी सङ्ग्रह : २०२६), भानुभक्तदेखि तेस्रो आयामसम्म (समालोचना सङ्ग्रह : २०२७), सम र समका कृति (समालोचना : २०२९), सुम्पन ल्याएँ (समालोचना सङ्ग्रह ः २०४४) रहेका छन् । उनले गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रह (२०२०), गोपालप्रसाद रिमालको आमाको सपना कविता सङ्ग्रह (२०१९), पच्चीस वर्षका नेपाली निबन्ध (२०३९), चाँदनी शाहका कविता कविता सङ्ग्रह (२०३९), समसामयिक साझा कविता (२०४०) आदि महत्त्वपूर्ण कृतिहरूको सम्पादनसमेत गरेका छन् । 

तारानाथ शर्माका आलोचकीय चेतनाको एउटा महत्त्वपूर्ण पाटो साहित्येतिहास लेखन हो । ‘नेपाली साहित्यको काल विभाजन’ शीर्षकको लेख गोरखापत्र (२०२६) मा प्रकाशन गरी शर्मा नेपाली साहित्येतिहास लेखनतर्फ आकर्षित भएको देखिन्छ । उनका यस विधाक्षेत्रमा नेपाली साहित्यको इतिहास (२०२७) र नेपाली साहित्यको ऐतिहासिक परिचय (२०२९) गरी दुईवटा कृति प्रकाशित छन् । यीमध्ये दोस्रो कृति पहिलो कृतिको सङ्क्षिप्त रूप हो । प्रस्तुत सन्दर्भमा शर्माका साहित्येतिहास लेखनकलाको विश्लेषण र मूल्याङ्कनका लागि नेपाली साहित्यको इतिहास कृतिको विश्लेषण र संश्लेषणलाई आधार बनाइएको छ । 

नेपाली साहित्यको इतिहास र शर्माको साहित्येतिहास लेखनकथा  सहयोगी प्रकाशन, त्रिपुरेश्वर, काठमाडौँबाट पहिलोपल्ट प्रकाशित नेपाली साहित्यको इतिहास (२०२७) कृति हालसम्म पाँचौँ संस्करणसम्म परिमार्जन तथा अद्यावधीकरण गरिएको छ । यस कृति पहिलो संस्करणमा नेपाली साहित्यको प्रारम्भदेखि २०२६ सम्म नेपाली साहित्यको इतिहासलेखनमा भएका मुख्य कार्यहरूको सर्वेक्षण तथा अध्ययन गरी नेपाली साहित्यको इतिहासलार्ई आलोचनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । पछिल्ला संस्करणमा नेपाली साहित्यको पछिल्लो आधा शताब्दीलाई प्रवृत्तिगत ऐतिहासिक मूल्याङ्कनका दृष्टिले प्रस्तुत नगरीकन स्रष्टा र कृतिको विवरण अद्यावधीकरण गर्ने कार्य मात्र थप गरिएको देखिन्छ । यस कृतिको महŒवका बारेमा चर्चा गर्दै तारानाथ शर्मा (२०२७) स्वयंले कृतिको ‘विषय प्रवेश’मा लेखेका छन् :

नेपाली साहित्यको इतिहासलार्ई परिचित पार्ने उद्देश्यले यस कृतिको निर्माण भएको हो । यसमा पाइएसम्म पुराना साहित्यिक कृतिहरूदेखि थालेर २०२६ सालसम्म प्रकाशित भएका कृतिहरूसम्मका व्याख्या र विश्लेषण समावेश गरिएको छ । यो कृति प्रमुख रूपले विश्वविद्यालयका परीक्षार्थीहरूका लागि आवश्यकताको पूर्ति गर्ने ध्येयले तयार पारिएको भए तापनि नेपाली साहित्यको ऐतिहासिकतामा रुचि राख्ने जुनसुकै प्रकारका पाठकहरूलार्ई पनि सहयोगी होला भन्ने आशा छ । (पृ.क.)

शर्माको यो कृति नेपाली भाषामा प्रकाशित नेपाली साहित्यको सबैभन्दा पहिलो बृहत् इतिहासग्रन्थ हो । यसका साथै यो कृति ‘नेपाली साहित्यको इतिहास’ शीर्षकमै आबद्ध पहिलो कृति पनि हो । यस कृतिमा आालोचनात्मक साहित्येतिहास लेखनकलाको प्रयोग गरिएको छ । यस आलेखमा अन्तर्वस्तुको सुसंयोजन र रूपपद्धतिको सुसंयोजन गरी दुई आयाममा प्रस्तुत कृतिको विश्लेषण गरी तारानाथ शर्माको साहित्येतिहास लेखनकलाको मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ ।

अन्तर्वस्तुको सुसंयोजन 

नेपाली साहित्यको इतिहास कृतिमा साहित्येतिहास लेखनका घटनावृत्त, विचारधारा, काल विभाजन, जीवनी, कार्यकारण सम्बन्ध, मूल्यनिर्णय, प्रकल्पना र इतिहासचेतनाजस्ता अन्तर्वस्तुगत तत्त्वहरूको सूक्ष्म र व्यवस्थित प्रयोग गरिएको छ । नेपाली साहित्यको प्रारम्भदेखि २०२७ सम्मका अधिकांश घटनावृत्तलाई समावेश गरी तिनका कार्यकारणको वस्तुपरक विश्लेषण पनि यस कृतिमा गरिएको छ । नेपाली साहित्यको इतिहासका घटना, अभियान, आन्दोलन र तिनका प्रभावको ऐतिहासिक पृष्ठभूमि तथा परिवेशसहित विश्लेषण गरी ऐतिहासिक कार्यकारणको सन्तुलित व्याख्याबाट प्रस्तुत कृतिको घटनावृत्त निर्माण गरिएको देखिन्छ । यस कृतिमा गतिशील विचारधारालाई इतिहासलेखनका सन्दर्भमा प्रयोग गर्न खोजिएका भए पनि उक्त विचारधारा गतिशील साहित्येतिहास लेखनका अनुकूल नभएर तत्कालीन राजनीतिक व्यवस्था, शासक र तिनका प्रभुत्वको अभिरेखाङ्कनका रूपमा अभिव्यक्त भएको देखिन्छ । 

प्रस्तुत कृतिमा नेपाली साहित्यको काल विभाजनमा नवीन पद्धतिको अनुसरण गरी तीनखन्डे काल विभाजनका सट्टा बहुखन्डे अवधारणा स्वीकार गरिएको छ । साहित्य एवं साहित्यिक प्रवृत्तिलार्ई आन्तरिक र स्रष्टा एवं राजनीतिक घटनाक्रमलाई बाह्य आधार बनाएर विभाजित कालखण्डको नामकरणमा गरिएको यस कृतिमा नेपाली साहित्यलाई पाँचवटा कालखण्ड (भानुभक्तपूर्व युग, भानुभक्त युग, मोतीराम युग, क्रान्तिपूर्व युग र क्रान्तिउत्तर युग) मा विभाजन गरिएको छ । प्रारम्भका तीन कालखण्डको नामकरण तद्युगीन मुख्य साहित्य स्रष्टाका आधारमा गरिएको छ भने पछिल्ला दुई काल खण्डको नामकरणमा राजनीतिक परिवर्तनका आधारमा गरिएको छ । यसरी बहुखन्डे काल विभाजन गर्नु, काल विभाजनका आधारको एकरूपतापूर्ण प्रयोग नगरी छ्यासमिसे आधार प्रयोग गर्नु यस कृतिका खास वैशिष्ट्य तथा सीमासमेत हुन् । 

साहित्यको इतिहासमा विभिन्न साहित्य स्रष्टाका अध्यवसायले महत्त्वपूर्ण योगदान गरेको हुन्छ । ती स्रष्टाको विशेष अध्ययनबिना साहित्येतिहास अपूर्ण हुन्छ । तारानाथ शर्माको प्रस्तुत कृतिमा पनि इतिहासको सतत प्रवाहमा आआफ्नो समयमा साहित्य सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा दिएका योगदानको तथ्यपूर्ण विश्लेषण र मूल्याङ्कन गरिएको छ । यसरी साहित्येतिहास लेखनको एउटा कला जीवनीका दृष्टिले उपयुक्त देखिन्छ । शर्माको धारिलो कलम स्रष्टा र तिनका योगदानको मूल्याङ्कन गर्ने क्रममा कतै नरम र कतै कडा रूपमा प्रस्तुत भएको देख्न सकिन्छ । स्रष्टाको जीवनीलाई अधिकतम वस्तुपरक र प्रामाणिक बनाउने प्रयत्न भने शर्माको इतिहासलेखनमा देखिन्छ । पहिलो संस्करणमा २०२६ सालसम्मका स्रष्टालाई समेट्नु र त्यसपछि प्रकाशन भएका संस्करणहरूमा जीवनीको अद्यावधीकरण गर्दै जानु शर्माको साहित्येतिहास लेखनको अध्यवसायिक विशेषता हो । साहित्यकारको व्यक्तिवृत्तको प्रस्तुतिका साथै तिनका कृति र ती कृतिको विमर्शका आधारमा प्रवृत्तिको निरूपणसमेत गरी गद्य–पद्य दुवैका सबै उपविधामा सिर्जनात्मक सामथ्र्य देखाउने प्रतिभाको जीवनी प्रस्तुत गर्नु शर्माको इतिहास लेखनगत सबल पक्ष हो । कृति, कृतिकार एवं विभिन्न साहित्यिक आन्दोलनहरूको महत्त्व र योगदानको मूल्याङ्कनमा पनि शर्मा सफल छन् । यसलाई दयाराम श्रेष्ठ (२०५९) ले यसरी मूल्याङ्कन गरेका छन्– “ऐतिहासिक तटस्थतामा अडिग रहेर यसमा लेखकले कृति र कृतिकार विशेषको योगदान र महत्त्वको विश्लेषण गरिदिएका छन्” (पृ.७७) । 

कृतिको व्याख्या, विश्लेषण, कृतिकारको परिचय र प्रवृत्तिको विश्लेषणका साथै योगदानको निर्धक्क निरूपणसमेत तारानाथ शर्माको साहित्येतिहास लेखनकलागत वैशिष्ट्य हो । 

नेपाली साहित्यका गद्य र पद्य दुवै विधा र तिनका उपविधाका सामाजिक, सांस्कृतिक, राजनीतिक आदि पृष्ठभूमि तथा प्रभाव–प्रेरणाको विश्लेषण र मूल्याङ्कन गर्नु; विभिन्न साहित्यिक, ऐतिहासिक घटनाहरूको व्याख्या–विश्लेषण गर्नु साथै तिनका योगदान र महत्त्वको निक्र्योल गर्नु पनि शर्माको साहित्येतिहास लेखनकलागत वैशिष्ट्य हो । 

कृतिकारको जीवनी, व्यक्तित्व, कृतित्वका साथै कृतिहरूको विमर्शमा आलोचनात्मक दृष्टिलाई आत्मसात गरिएको यस कृतिमा स्रष्टा, कृति र युगको मूल्यनिर्णयमा पनि उत्तिकै सचेतता र सजकता देखाइएको छ । यस कृतिमा २०२७ सालपूर्व भएका नेपाली साहित्यको इतिहासलेखनका सम्पूर्ण कार्यहरूलार्ई समेट्दै एउटा ठोस, प्रामाणिक, वैज्ञानिक र तथ्यपूर्ण साहित्येतिहास बनाउने प्रयत्न गरिएको छ । 

नेपाली साहित्येतिहासका विद्वान्, शिक्षक–प्राध्यापक, विद्यार्थी र स्वतन्त्र पाठकहरूले पनि नेपाली साहित्येतिहासका सन्दर्भमा शर्माको मूल्यनिर्णय क्षमतालाई मान्यता प्रदान गरेको देखिन्छ । 

रूपपद्धतिको सुसंयोजन

तारानाथ शर्मा अन्तर्वस्तुलाई अभिव्यक्त गर्नाका लागि योजना, विधि र प्रस्तुति जस्ता रूपपद्धतिको सुसंयोजन गर्ने साहित्येतिहासकार हुन् । नेपाली साहित्यको इतिहास कृति योजनाबद्ध लेखनको परिणति हो । यस साहित्येतिहासमा काल विभाजनका आधारको व्याख्या, कालखण्डको औचित्य निर्धारण, तार्किक प्रस्तुति, स्रष्टा र उसको सिर्जनशीलतालाई साहित्यिक विकास यात्रासँग जोड्ने कार्य व्यवस्थित र योजनाबद्ध ढङ्गले भएको देखिन्छ । समग्र नेपाली साहित्यको इतिहासलाई एउटा साझा प्रकल्पनाका आधारमा पाँचवटा कालखण्डमा विभाजन गरी तिनका औचित्यको पुष्टिसहित निरन्तर गतिशील समयका अनुक्रममा अन्तर्सम्बद्ध गर्दै ती कालखण्डको विमर्श गर्नु, सम्बद्ध कालखण्डमा पर्ने विधाउपविधा, स्रष्टा, कृति, प्रवृत्ति आदिको योजनाबद्ध विश्लेषण गर्नु र समग्र साहित्येतिहासलाई एउटा मूल्य प्रदान गर्नु शर्माको रूपपद्धतिको कलागत सबलता हो । यसै सबलताका आधारमा शर्मालाई रेखीय योजनाढाँचामा आधारित विकासशील साहित्येतिहासका सफल लेखक मान्नु उपयुक्त हुन्छ । 

तारानाथ शर्मा आफूले स्थापना गर्न खोजेका तथ्यलाई वस्तुपरक ढङ्गले प्रस्तुत गर्ने र तिनका स्रोतसमेत उल्लेख गर्ने कार्यमा सचेत देखिन्छन् । त्यसैले उनी तथ्य सङ्कलन, तथ्यको वर्गीकरण, विश्लेषण, सामान्यीकरण र निष्कर्षणका क्रमागत कार्यप्रक्रियाको अनुपालना गर्ने वैज्ञानिक विधि बोध भएका साहित्येतिहासकार हुन् । एउटा आकर्षक र स्तरीय कलेबर प्रदान गरी पाठकसामु ग्रन्थाकार रूपमा पेस गर्नु र त्यसका आधारमा कृतिगत मानकता प्राप्त गर्नु शर्माको साहित्येतिहास लेखनमा प्रस्तुतिगत सबलता हो । यिनै आधारमा उनलाई समग्र नेपाली साहित्यिक परम्पराका व्यापक तथ्यहरू समेटेर आलोचनात्मक साहित्येतिहास लेख्ने पहिलो नेपाली साहित्येतिहासकार हुन् भन्ने निक्र्योल गर्न सकिन्छ ।

नेपाली साहित्यको इतिहासका लेखक तारानाथ शर्मा आलोचनात्मक साहित्येतिहास लेखनका कलापक्षको अधिकाधिक संयोजन गर्नसक्ने साहित्येतिहासकार हुन् । नेपाली साहित्यको इतिहासका व्यापक तथ्यहरूको निर्भीक र तर्कपूर्ण समीक्षा गरिएका हुनाले शर्माको साहित्येतिहास आलोचनात्मक स्तरको बन्नपुगेको हो । यस साहित्येतिहासमा नेपाली साहित्यको काल विभाजन, त्यसका आधार, समस्या, विवाद र तिनको समाधानका लागि मौलिक तर्क दिँदै उचित समाधान गर्ने निचोड प्रस्तुत गरिएको छ । नेपाली साहित्येतिहासलाई तीन कालखण्डमा विभाजन गर्ने परिपाटीप्रति सकारण असन्तुष्टि राख्दै साहित्यका कालको लेखाजाखा गर्दा साहित्यको विषयवस्तु, शैली, भाषा, राजनीतिक र आर्थिक पृष्ठभूमि, अरू भाषा र साहित्यको प्रभाव, वैचारिक–दार्शनिक प्रतिपादन, चेतनशील रूपले गरेका साहित्यिक आन्दोलनहरू, अन्य युगका साहित्यिक अवधारणाहरूको पुनस्र्थापनाजस्ता पक्षलाई ध्यान दिनु आवश्यक ठानिएको छ । अनेक तर्कहरू प्रस्तुत गरेर नेपाली साहित्यलाई त्रिकालिक संरचनामा विभाजन गर्ने बहुप्रचलित परिपाटीमाथि पहिलोपल्ट आलोचनात्मक प्रश्न उठाएर त्यसलाई इतिहासमा फरक ढङ्गले स्थापित गर्ने प्रयत्न शर्माले गरेको देखिन्छ । 

नेपाली साहित्यको इतिहास कृतिका माध्यमबाट शर्माले औपचारिक रूपमा बहुखन्डे काल विभाजनको सन्दर्भलाई तर्कसङ्गत ढङ्गले स्थापना र पुष्टि गरेको देखिन्छ । नेपाली साहित्यको काल विभाजनका माध्यमबाट समग्र नेपाली साहित्येतिहासका तथ्य र तिनको आलोचनात्मक विश्लेषण गर्ने आलोचनात्मक इतिहास लेखनकला प्रयोगका दृष्टिले तारानाथ शर्माको योगदान नेपाली साहित्येतिहास लेखनका क्षेत्रमा उच्च र स्तुत्य रहेको छ । 

तारानाथ शर्मा सर्वप्रथम वैज्ञानिक, तार्किक र विश्लेषणात्मक ऐतिहासिक दृष्टि तथा इतिहास लेखनकला प्रयोग गरेर नेपाली साहित्यको इतिहास लेख्ने साहित्येतिहासकारका रूपमा प्रतिष्ठित छन् । 

साहित्येतिहासका समग्र अङ्गीभूत तत्त्वहरूको सन्तुलित संयोजनबाट निःसृत आलोचनात्मक कोटिको उच्च साहित्येतिहास लेखनका माध्यमबाट नेपाली साहित्येतिहास लेखनमा एउटा मानक अवधारणा निर्माण गर्न सक्नु तारानाथ शर्माको महत्त्वपूर्ण  खुबी हो । यस दृष्टिले एउटै साहित्येतिहास लेखेर यस विधाक्षेत्रलाई उन्नत बनाउन महत्त्वपूर्ण  ऐतिहासिक योगदान गर्ने व्यक्तित्वका रूपमा तारानाथ शर्माको उच्च मूल्याङ्कन गर्नु उपयुक्त देखिन्छ ।