• १८ कात्तिक २०८२, मङ्गलबार

अनिवार्य युवा नेतृत्व

blog

नेपाली युवाको भविष्य निर्धारण गर्ने रणनीतिक कार्ययोजनाका रूपमा लिएको राष्ट्रिय युवा नीति–२०८२ पारित भएसँगै युवाको उमेर सीमा पनि परिवर्तन भएको छ । नेपाल सरकार मन्त्रीपरिषद् बैठकबाट हालै स्वीकृत यो नीतिले अब १८ देखि ३५ वर्ष उमेर समूहलाई ‘युवा’ तोकेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा उक्त उमेर समूहको जनसङ्ख्यालाई युवा मानिने कुरा स्वीकृत नीतिमा उल्लेख गरिएको छ । यसअघिको राष्ट्रिय युवा नीति–२०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा मान्ने गरेको थियो । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार युवाको उमेर समूहका विषयमा विभिन्न मुलुकले आआफ्नै किसिमको मापदण्ड बनाए पनि नेपालको सन्दर्भमा बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षसम्मकालाई बालबालिका मानेको हुँदा सोही अनुरूप युवाको उमेर १६ बाट बढाएर १८ पु¥याइयो ।  

त्यस्तै अन्तर्राष्ट्रिय परिवेशलगायत विभिन्न अवस्थालाई अनुकूल हुने गरी युवाको उमेर १६ बाट बढाएर १८ वर्ष र ४० बाट घटाएर ३५ वर्ष पु¥याइएको भनाइ उनको छ । २०७८ सालको जनगणना अनुसार १६ देखि ४० वर्षका युवाको उमेर समूह ४२.५६ प्रतिशत रहेको छ । 


उमेर समूह घटाएसँगै युवाको जनसङ्ख्या ९० लाख २५ हजार (३०.१ प्रतिशत) भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालका अनुसार राष्ट्रिय युवा नीतिले परिकल्पना गरे अनुसार राष्ट्रिय युवा परिषद् ऐन २०७२, युथ भिजन २०२५ र युवासम्बन्धी १० वर्षे रणनीतिक योजना कार्यान्वयनमा रहेका छन् ।

‘राष्ट्र निर्माणमा युवा’ अनिवार्य भएकाले हरेक क्षेत्रमा युवाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने भनाइ उनको छ । जारी नयाँ नीतिले राष्ट्र निर्माणमा युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन महत्वपूर्ण सहयोग पु¥याउने दाबी गरिएको छ । 

प्रत्येक पाँच/पाँच वर्षमा युवा नीति पुनरवलोकन गर्नुपर्ने रणनीति भए पनि १० वर्षपछि धेरै विषयवस्तु परिवर्तन गरी नयाँ नीति ल्याइएको छ । २०७२ सालमा जारी राष्ट्रिय युवा नीति र २०८२ सालको राष्ट्रिय युवा नीतिमा धेरै विषय परिमार्जन गरिएका छन् । 

राष्ट्रिय युवा नीति २०७२ र २०८२ मा भिन्नता

युवा नीति– २०७२ 

उमेर हेरफेर : १६ देखि ४० वर्षसम्मको उमेर समूहका नागरिकलाई युवा घोषित गरेको थियो । 

दुरदृष्टि : युवा सशक्तीकरण, नेतृत्वदायी भूमिका स्थापित गराउने । 

लक्ष्य : देश विकासमा सार्थक सहभागिता, क्षमता, नेतृत्व विकास तथा राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै लैजाने लक्ष्य । 

उद्देश्य : राष्ट्र विकास र निर्माणमा युवा, उत्तरदायी र जवाफदेही, सिर्जनशील र उद्यमशील, शारीरिक तथा मानसिक रूपमा स्वच्छ र बौद्धिकलगायत सात वटा बुँदा समावेश ।   

नीति : युवा परिवर्तनको संवाहक र दिगो विकासको आधार भएकाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र, मानव अधिकार, आर्थिक, सामाजिक उन्नति, सहस्राब्दी विकास लक्ष्य हासिल गर्नेलगायत २४ बुँदे नीति जारी गरेको थियो ।  

रणनीति : प्रस्तुत रणनीतिलाई कार्यान्वयनमा लैजान राज्यका हरेक निकायलाई जिम्मेवार बनाइने रणनीति अवलम्बन गरिएको थियो । उक्त रणनीति अनुसार शिक्षा, रोजगार, स्वास्थ्य, सामाजिक सुरक्षा, नेतृत्व विकास, युवा सशक्तीकरण, सहभागिता र परिचालन साझेदारीलगायत विभिन्न विषय समेटिएका छन् । सातै प्रदेशमा युवा परिषद् गठनलगायत छन् । बागमती, सुदूरपश्चिम र लुम्बिनीमा परिषद् गठन भइसकेको छ । 

नीति कार्यान्वयन : उक्त नीति कार्यान्वयनका लागि संस्थागत व्यवस्था अनुसार सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, आर्थिक पक्ष, अनुगमन र मूल्याङ्कन आदिलाई मुख्य विषयका रूपमा समेटिएको छ ।  


युवा नीति– २०८२ 

१८ देखि ३५ वर्ष उमेर समूहका नागरिकलाई युवा घोषणा गरेको छ । 

युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सार्थक सहभागिता गराउने ।  

राज्य निर्माणमा युवाको अर्थपूर्ण सहभागिता, सदाचार, सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा युवा राखिएको छ ।  

स्वस्थ, शिक्षित, सकारात्मक सोचाइ, नैतिकवान्, उद्यमशील, कर्तव्य, राज्यप्रति दायित्व, जिम्मेवार, राष्ट्रियताको भावना जागृत, सिर्जनशील युवा निर्माणलगायत तीन वटा बुँदा समेटिएका छन् ।  

युवालक्षित यो नीतिले गुणस्तरीय जीवनयापन, आयआर्जन, अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा, खेलकुद क्षेत्रमा अब्बल, प्रविधिमैत्री रोजगार, अध्ययन र अनुसन्धान, राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व गरी नौ बुँदा समेटेको छ । 

यो एआईको युग भएकाले सामाजिक सञ्जाल, सूचना प्रविधिमैत्री जीवन, जीवनोपयोगी शिक्षा, स्वरोजगार, गुणस्तरीय जीवन, घातक रोग, एचआइभी, सङ्क्रमण, लागुऔषध दुव्र्यसनका लागि विशेष कार्यक्रम, सामाजिक उद्यमशीलता, पछाडि परेका युवाको सशक्तीकरण, नेतृत्वदायी भूमिका, डिजिटल अर्थात् सूचना प्रविधिको अधिकतम प्रयोग गरी आत्मनिर्भर एवं स्वरोजगार बनाउनेलगायत २५ बुँदे रणनीति तयार पारेको छ । 

राज्यका हरेक निकायमा युवाको सहभागिता अनिवार्य बनाई यसको संस्थागत व्यवस्थासँगै केन्द्रदेखि स्थानीय तह हुँदै वडा कार्यालयसम्म, राज्यका विभिन्न निकायदेखि गैरसरकारी संस्थासम्म सहकार्य र जिम्मेवार बनाइने छ । वित्तीय स्रोतसाधन, भौतिक पूर्वाधारको व्यवस्था, जोखिम पहिचान गर्ने उल्लेख छ ।  

त्यस्तै राष्ट्रिय योजना आयोगबाट नीतिको प्रभावसम्बन्धी मूल्याङ्कन, तहगत सरकारबाट कार्यक्रमको तहगत मूल्याङ्कन, नीति तथा अनुसन्धान प्रतिष्ठानबाट नीति परीक्षण र राष्ट्रिय युवा परिषद्बाट युवामैत्री शासन परीक्षण गरिने छ ।  

नयाँ युवा नीतिले ७० वटा क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ । यसका लागि जिम्मेवार निकायहरू, सहयोगी संस्थासँग सहकार्य गरी निश्चित समयीवधिमा सम्पन्न गरी त्यसबाट भए गरेका उपलब्धिको मूल्याङ्कन गर्न कार्ययोजना पनि सार्वजनिक गरेको छ । विगतको युवा नीतिभन्दा यो नीति केही परिवर्तनशील र प्रविधिमैत्री रहेको छ । 


युवा नीति ‘जेनजी’ वर्गलक्षित छ


  • सुरेन्द्र बस्नेत उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्  

राष्ट्रिय युवा नीति–२०८२ मा नयाँ कुरा के छन् ?

नयाँ युवा नीतिले युवाको उमेर समूह परिवर्तन गरेको छ । विगतका जस्तो भद्रगोल छैन । यसले वास्तविक युवालाई सम्बोधन गरेको छ । नेपालका विभिन्न कानुन, अन्तर्राष्ट्रिय परिवेश सबै पक्षलाई अनुसरण गरी १६–४० उमेर समूह परिवर्तन गरी १८–३५ बनाएका छौँ । 

यसको कार्यान्वनयमा के कस्ता चुनौती छन् ? 

यस नीतिको कार्यान्वयनका लागि सम्बद्ध निकाय वा सरोकारवाला पक्ष सबै जिम्मेवार हुन जरुरी छ । सङ्घीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकारलगायत वडा तहसम्म यो नीतिलाई कार्यान्वयनमा लैजानु पर्छ । जिल्ला युवा समिति खारेज गरी वडा तहसम्म युवा परिषद् गठन गरी युवालाई राष्ट्र निर्माणको जिम्मेवार बनाउनु पर्छ । त्यसो गर्दा कार्यान्वयनमा चुनौती नआउला । 

नीति कार्यान्वयनमा परिषद्को भूमिका कस्तो हुन्छ ?

नीतिले नै को कसको के के जिम्मेवार हो स्पष्ट पारेको छ । युवाको नेतृत्व विकास, क्षमता विकास, उद्यमशीलसम्बन्धी प्रशिक्षण, सिप विकास, नमुना संसद् अभ्यास, नीति निर्माण तहमा युवालाई सहभागी गराउने विषयमा परिषद्ले रचनात्मक काम गर्दै आएको छ । परिषद् यो नीति कार्यान्वयनको महìवपूर्ण पक्ष भएकाले स्वरोजगारदेखि आत्मनिर्भर बनाउनेतर्फ लागिपरेको छ ।

परिषद्ले युवाका पक्षमा अन्य के के काम गर्छ ?

युवालाई रोजगारमूलक सिपमूलक कार्यक्रम, रोजगारमूलक सिप विकास तालिम, वित्तीय साक्षरता, बन्द शिविर राखेर ज्ञानवद्र्धक तालिम आदानप्रदान, सहुलियत दरमा कर्जा,  विभिन्न सरकारी तथा गैरसरकारी संस्था र सञ्जालसँग सहकार्य गरी युवालक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवालाई प्रविधिसँग जोड्न सिप तालिम, प्रशिक्षण र दक्षता एव क्षमता अभिवृद्धि गरिन्छ । 

अहिले युवाले ल्याएको परिवर्तनलाई कसरी लिनुहुन्छ ?

युवा शक्ति कति शक्तिशाली हुन्छ सबैले बुझ्न जरुरी छ । विगतमा युवालाई राज्यको मेरुदण्ड वा भविष्यका कर्णधार भनियो तर कहीँकतै सम्बोधन गरिएन । जसको परिणाम अहिले देखियो । 

विशेष गरी जेनजी समूह आन्दोलित हुनुको एउटा कारण उनीहरूलाई हामीले नबुझ्नु पनि हो ? विगतका सरकारले युवालाई राष्ट्र निर्माणको संवाहक भने पनि उनीहरूलाई सम्बोधन नगरेकाले हुन सक्छ यस्तो समस्या आएको । युवामैत्री स्थानीय शासन व्यवस्था, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण हुन जरुरी छ । यो नीति उनीहरूको आवाज सम्बोधन गर्न पनि लक्षित छ । 

–युवामञ्च