• १४ भदौ २०८२, शनिबार

सुदूरपश्चिमको मन जोड्ने गौरा

blog

डोटी राम्रो डडेलधुरा न्याउल्या, 

अछाम राम्रो साँफ्या न्याउल्या ।

मान्छे राम्रो मन मिल्याको न्याउल्या,

चरी राम्रो डाफ्या न्याउल्या ।।

गौरा र गायन । देउडा र दौँतरी । सुन्दर सुदूरपश्चिमको मौलिक गौरा संस्कृति यति बेला नेपाली संस्कृतिका रूपमा फैलिएको छ । प्राकृति, धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधताको उर्वरभूमि सुन्दर सुदूरपश्चिमलाई चिनाउने धार्मिक एवं सांस्कृति पर्व हो– ‘गौरा’ । गौरा सामान्य अर्थमा गोरो वर्ण भएकी स्त्री भन्ने बुझिन्छ । धार्मिक दृष्टिकोणले नारी शक्तिकी प्रतीक ‘पार्वती वा गौरी’ भन्ने हुन्छ । वैदिक सनातन धर्म अनुसार हिमालय पर्वतकी छोरी गौरी भगवान् शिवकी अर्धाङ्गिनी (गौरी–महेश्वर) हुन् । हिन्दु धर्मावलम्बीका लागि गौरी–महेश्वरको महिमा विशाल छ । विशेष गरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्व यसैको एक उदाहरणीय आराधना हो । 

गौरा पर्व माता पार्वती (गौरी) र भगवान् शिव (महेश्वर) को पूजाआराधनासँग जोडिएको छ । यस पर्वलाई पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गरेको कठोर तपस्याको प्रतीक मानिन्छ । विवाहित महिला आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुख, समृद्धिको कामना गर्दै व्रत बस्ने गर्छन् । विवाहित महिलाले सत्य र शक्ति प्राप्तिका लागि गर्ने पूजाआराधना एवं धर्मकर्मले श्रीमान् वा छोरा मान्छेको दीर्घायु हुने विश्वास रहेको छ ।

भाद्र शुक्ल चतुर्थीदेखि (शुक्ल अष्टमी/कृष्ण अष्टमी) दिनसम्म (पाँच दिन) मनाइने गौरा पर्वले धार्मिक तथा संस्कृतिका अतिरिक्त सामाजिक महत्व पनि बोकेको छ । तिथि अनुसार यस वर्षको गौरा पर्व शुक्ल अष्टमीमा परेको छ । त्यस कारण यस पटकको गौरा पर्वलाई उज्याली (जुनेली रात) गौरा भनिएको हो । 

कृष्णाष्टमीमा पर्ने (औँसीको रात) गौरालाई अँध्यारी गौरा भन्ने गरिन्छ । तिथि अनुसार गौरा (शुक्ल अष्टमी वा कृष्ण अष्टमी) मा पर्ने गर्छ । गौरा सुदूरपश्चिमवासीका लागि दसैँ र तिहारपछिको तेस्रो ठुलो चाड हो । गौरा मनाउनकै लागि परदेसिएकाहरू घर फर्किने गर्छन् । 

गौरामा विवाहित महिला शुद्ध भएर निरहार व्रत उपासना बस्ने, पुरुषले सहजीकरण गर्ने भएकाले यसलाई पारिवारिक सम्बन्धको सेतु र आपसी मनमुटावलाई दूर गर्ने कडीका रूपमा चर्चा गरिएको छ । गौरा पर्वको सांस्कृतिक पक्षले समाजलाई एकीकृत बनाई दुःखसुख साटासाट, आपसी सहयोगको भावना जागृत, सामाजिक सद्भाव र मेलमिलाप गराउन प्रेरित गरेको छ । सोही कारण डोटी, बैतडी, डडेलधुरा र दार्चुलामा सीमित यो पर्व हाल आएर काठमाडौँ सहर हुँदै अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा फैलिएको छ ।

डोटेली भाषामा गौरालाई गोःरा, गमरा, गौरा भन्ने गरिन्छ । डोटेली भाषाविद् आरडीप्रभास चटौतका अनुसार गौरामा काटमार, बलि दिनेलगायत आपसमा भएगरेका झैझगडा, रिसराग र मनमुटाभ, दुःखपीडा सबै बिर्सेर एकैसाथ यो पर्व मनाउनुपर्ने भएकाले शुद्ध एवं पवित्र मानिन्छ । यस पर्वमा गीत सङ्गीतले विशेष महत्व राख्छ । गाउँकै पटाङ्गिनी वा सार्वजनिक चौरमा जम्मा भएर महिला–महिला, महिला–पुरुष र पुरुष–पुरुष गोलाकार भएर हातमा हात समाएर देउडा गाउने, न्याउल्या खेल्ने, मागल र फाग गाउने गर्छन् । 

गौरा गाथा

गौरा पर्व कम खर्चिलो र मनाउन सजिलो भएकाले पनि यस पर्वको महिमा र महत्व बढेको छ । यस वर्ष–२०८२ गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि (भदौ ११ देखि १५ गते आइतबार) अष्टमीसम्म पाँच दिनसम्म मनाइने छ ।  गौरा चतुर्थी– गौरा पर्व सुरु हुनुपूर्व (अघिल्लो) दिन हो गौरा चतुर्थी । यो दिनलाई त्यति महìव दिएको पाइँदैन तर धार्मिक विधि अनुसार यो दिन गौरा पर्वको जग बसाउने दिनका रूपमा लिने गरिन्छ । हातगोडाका नङ्क काट्ने, घर, आँगन, कपडा सरसफाइ गर्ने, गौरा राख्ने घर वा मन्दिर सरसफाइ, लिपपोत गर्ने गरिन्छ । यस दिनलाई बिरुडा केलाउने दिनका रूपमा लिने गरिन्छ । पञ्चमी– गौरा पर्वको पहिलो दिन ऋषिपञ्चमी हो । पञ्चमीमा महिलाले आआफ्नो घरमा दाइजोबाट प्राप्त तामाको ताउली वा पित्तलको भाँडामा पाँच प्रकारका अन्न (गहुँ, केराउ, गहत, मास र गुराउँस) भिजाउने गर्छन् । यसलाई ‘बिरुडा’ भनिन्छ । बिरुडा भिजाएको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ । यो समयमा यस्ता फागहरू गाउने चलन छ–

अइलकी नौलो बरत मुई लोली लै लिनौँ

महेश्वर गुसाइँ हमरा विनती षुणी (सुनी) दिए । 

खोजिदिया पञ्चबिरुडी गुसाइँ, सिलाई दिया कपडा,

छोरी न छोरी हिट शिखर झानौँ हात समाई आँसी ।।

यहाँ भगवान् महेश्वरलाई गुसाइँ शब्दले सम्बोधन गरिएको छ । आफूलाई सँगै लैजान गौरीले महेश्वरलाई विन्ती गरेकी छन् । विन्ती सुनिदिन आग्रह गर्दै पञ्च बिरुडा खोजिदिन र हात समाएर शिखर जाने आस गरेकी छन् ।

षष्ठी– गौरा पर्वको दोस्रो दिन सूर्यषष्ठी हो । यस दिन भिजाएको बिरुडालाई पँधेरो, नाउलो पोखरी वा नदीको सफा पानीले पखालेर पूजा गरिन्छ । यस दिनलाई बिरुडा पखाल्ने दिनका रूपमा मनाइन्छ । बिरुडा पखाल्ने कार्यमा महिलाको सहभागिता अनिवार्य हुन्छ । यस दिन महिला–पुरुष रमाइलोका लागि यसरी देउडा गीत गाउँदै नाच्ने गर्छन्–

यो बाटो काँ झान्या रैछ नौलारानी

गौणी फगालाको भुइसा गोगनपानी

को हो तोइ बाडुली लाउन्या नौलारानी

वेली छकालकी मुइसा गोगनपानी

गौरा सप्तमी– यस दिनलाई अमुक्ताभरण सप्तमी पनि भन्ने गरिन्छ । सूर्योदय हुनुअगावै महिलाहरू उठेर पवित्र जलकुण्डमा गएर नुहाउने गर्छन् । शुद्ध घाँघर र चोली लगाउने तथा पछ्यौरी ओड्ने गर्छन् । निराहार व्रतालु महिलाले धान खेतबाट (पञ्च वनस्पति) साउँ, दुबो, कुश, बेल र तितेपातीबाट गौराको मूर्ति बनाउँछन् । यस मूर्तिलाई मङ्गल गान, पूजासहित गौराघर (सुरुदेखि नै गौराको पूजाआराधना गर्ने गरेको घर) वा मठमन्दिरमा भित्र्याइन्छ । गौरा पूजाघरमा भित्र्याउँदा बाजा बजाउनु र मागल गाउन अनिवार्य हुन्छ । 

गौरा अष्टमी– गौरा पर्वको मुख्य दिन हो– अष्टमी । यस दिन भगवान्को प्रतीक वा मूर्तिको पूजाआजा गरी गौरा–महेश्वरको विवाह गरिन्छ । महेश्वर वा शिवको प्रतीकका रूपमा एउटा काठको टुक्रालाई शुद्ध सफेद कपडाले छोपेर मूर्तिसँगै राखिएको हुन्छ । सोही दिन व्रतालु महिलाले दुबोले पूजा गरेर दुबो–धागो अभिषेक गरी घाँटीमा लगाउँछन् । बिरुडालाई प्रसादका रूपमा बाँडिन्छ । गौराको मूर्ति शिरमा राखेर महिलाहरू लयबद्ध ढङ्गले यस्ता फाग गाउँछन्–

शिरमाथि महेश्वर गुसाइँका भागरथीनदी बग

पापमणि लोली गमरादेवी हर हर नाउन्निन

कुमखेला महेश्वर गुसाइँको दुधै नदी बग

पापमणि लोली गमरादेवी हर हर नाउन्निन

कन्डोलित महेश्वर गुसाइँका घृतनदी बग

जाङजोला महेश्वर गुसाइँका मधुनदी बग ।।

गौरा विसर्जन– अन्तिम दिनलाई गौरा समापन वा सेलाउने दिनका रूपमा लिइन्छ । गौरा सेलाउन तिथि र साइत हेर्नुपर्ने हुन्छ । अन्य दिनको जस्तो यो दिन रमाइलो हुँदैन । शुभ साइत हेरी गौरा घर वा मन्दिरमा राखिएको गौरीको मूर्ति सेलाउन नदी, तलाउ वा पोखरी लैजाने गरिन्छ । 

बास तथा निगालोको छाप्रीमा राखेको मूर्ति आलोपालो शिरमा राखी बाजागाजासहित नदी, तलाउ र पोखरीमा सेलाइन्छ । गौरा विशेष गरी पाँच दिन मनाउने चलन भए पनि तिथि मिति अनुसार तलमाथि पर्ने गरेको देउडा गायक तथा लोकसंस्कृति सङ्कलक यज्ञराज उपाध्याय बताउनुहुन्छ ।  

गौरामा देउडापछिल्लो सयम गौरा पर्व विश्वव्यापी बन्दै गएको छ । यस पर्वको धार्मिक महत्व र सांस्कृति महिमाले गर्दा गौरा लोकप्रिय बन्दै गएको हो । सङ्घीय सरकारले गौरा पर्वका दिन सुदूरपश्चिमवासीलाई सार्वजनिक बिदा दिने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर एक दिन गौरा पर्व बिदा घोषणा गरेको छ ।  गौरा धार्मिक पर्व भए पनि यसमा पुरुषको सहभागिता कम हुन्छ । महिलाले गौराको पूजाआराधना र पुरुषले महिलालाई सरसामान जुटाउन सहयोग गर्ने र देउडा खेल खेलेर रमाइलो गर्छन् । प्रायः सबै जना एकै स्थानमा जम्मा हुने भएकाले गौरामा देउडा खेल्ने गरिएको भनाइ देउडा गायक उपाध्यायको छ । 

गौरा पूजामा गौरीले गरेको कठोर तपस्यालाई महिलाले व्यवहारमा उतारे जस्तै पुरुषले फाग, धमारी, भारी खेल, ढुस्को र देउडा गाउँदा पनि यस्तै दुःख कष्ट, पीडा, समाजको गाथा गाउँदै रमाइलो गर्छन् । आपसमा गोलाकार घेरा बनाएर देउडा गाउँदै गीतमार्फत सवाल–जवाफ फर्काउने गर्छन् । 

सबै जना एकै स्थानमा घन्टौँसम्म जम्मा हुँदा सुख, शान्ति, समृद्धिसँगै सामाजिक कार्यमा सहकार्य, हुनेले नहुनेलाई सम्झने भएकाले गौरा सामाजिक एकताको कडी बनेको प्रशंसा संरक्षण समूहका संस्थापक अध्यक्ष अम्बादत्त जोशी बताउनुहुन्छ । 

काठमाडौँमा देउडा 

काठमाडौँमा गौरा पर्व मनाउने सुरुवात शिक्षाविद् एवं त्रिविका पूर्वउपकुलपति त्रैलोक्यनाथ उप्रेतीले गर्नुभएको हो । कालिकास्थानस्थित निवासमा २०५५ सालदेखि गौरा पर्व मनाउन उप्रेतीले नै थाल्नुभएको हो । सुदूरपश्चिमबाट काठमाडौँ आएर बसोबास गर्नेहरूको उपस्थिति गौरामा बढ्दै गएपछि कालिकास्थानमा ठाउँ साँघुरो भएपछि टुँडिखेलमा गौरा पर्व मनाउन थालिएको थियो । गौरा पर्वमा सुदूरपश्चिमका नेताहरूको उपस्थिति हुन थालेपछि यस पर्वले अझ चर्चा र व्यापकता पाउन थाल्यो । हाल गौराको पूजाआराधना (धार्मिक कार्य) कोटेश्वरस्थित महादेव मन्दिरबाट र औपचारिक कार्यक्रम टुँडिखेलमा हुने गरेको छ । काठमाडौँमा मनाइने गौरा पर्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्री भीमबहादुर रावल, लेखराज भट्ट, एनपी साउदलगायत नेता, राष्ट्रसेवक कर्मचारी, व्यवसायी, विद्यार्थीको उपस्थिति हुने गरेको छ । आमनागरिकसँग नेताहरूले हात समाएर नाचेको दृश्यले टुँडिखेलमा अझ रोचकता थप्ने गरेको छ ।

डोटी राम्रो डडेलधुरा न्याउल्या, 

अछाम राम्रो साँफ्या न्याउल्या ।