“गोरखापत्रका प्रकाशनहरूप्रति प्रबुद्ध पाठकवर्गले प्रदान गर्नुभएको स्नेह, माया–ममता प्रस्तावित मासिक पत्रिकाले पनि यथेष्ट रूपमा पाउने आशा राखिएको छ ।”
“प्रत्येक अङ्कमा युवावर्गको समस्या र आवश्यकताहरूप्रति सजग भई युवाजगत्कै गतिविधि तथा क्रियाकलाप, हित र विचारलाई प्रधानता दिने किसिमका विविध रोचक पाठ्यसामग्री समावेश गरिने जनाएको छ ।”
आफ्नो प्रारूप अङ्कमा यति गहकिलो र समयसापेक्ष भाव अभिव्यक्त गरी गोरखापत्रको परिवारमा एक नयाँ सदस्यका रूपमा पाठकवर्गमा समर्पित मासिक पत्रिका ‘युवामञ्च’ अहिले ३६ वर्षको भयो ।
युवावर्गलाई लक्ष्य गरी २०४५ सालबाट ‘युवामञ्च’ को प्रकाशन शुभारम्भ भएको थियो । गोरखापत्र प्रकाशनको करिब ८६ वर्षपछि तत्कालीन युवराज दीपेन्द्रवीरविक्रम शाहदेवको शुभ–उपनयन (व्रतबन्ध) को अवसर पारेर ‘युवामञ्च’ को ‘प्रारूप अङ्क’ प्रकाशित गरियो ।
‘युवामञ्च’ को प्रारूप अङ्क जेठमा प्रकाशित भयो । प्रधान सम्पादक हुनुहुन्थ्यो, बालमुकुन्ददेव पाण्डे तर त्यसमा सम्पादकीय छैन, प्रकाशकीय छ । गोरखापत्र संस्थानका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक नगेन्द्र शर्माले प्रकाशकीयमा ‘युवामञ्च’ लाई ‘एक अभिनव’ संस्करणका रूपमा प्रस्तुत गर्नुभएको छ ।
युवामञ्च प्रारूप अङ्कमा आउनुको कारणलाई प्रकाशकीयमा यसरी स्पष्ट पारिएको छ– पाश्चात्य जगत्मा ‘प्रोटोटाइप कपी’ वा अङ्क प्रकाशित गर्ने प्रचलनलाई अनुकरण गरी ‘युवामञ्च’ को प्रारूप अङ्क पेस गरिएको छ । प्रकाशकीयमा लेखिएको छ, “आजको युवा पिँढीका हातमा युवामञ्चको यो प्रारूप अङ्क समर्पित छ ।”
‘युवामञ्च’ को प्रारूप अङ्कको आवरणमा तत्कालीन युवराज दीपेन्द्रको तस्बिर छापिएको छ भने ‘शुभ–उपनयन सम्बन्धी विशेष’ शीर्षक राखेर ‘युवापिँढीको प्रतिनिधि मासिक’ उल्लेख छ । यस अङ्कमा ६४ पृष्ठ रहेका छन् ।
ग्राहक तथा पाठकवर्गबाट प्राप्त प्रतिक्रिया र सुझावहरूका आधारमा प्रस्तावित प्रकाशनको स्वरूप–संरचना तय गरी जेठ महिनादेखि ‘युवामञ्च’ नियमित प्रकाशित हुने प्रतिबद्धता प्रकाशकीयमा जनाइएको छ । जेठमा प्रारूप अङ्क प्रकाशित भएपछि असारदेखि ‘युवामञ्च’ को पहिलो अङ्क प्रकाशनमा ल्याइयो र आजका दिनसम्म गोरखापत्र संस्थानले यस प्रकाशनलाई प्रतिबद्धता अनुरूप निरन्तरता दिइरहेको छ ।
‘युवामञ्च’ को असार अङ्कलाई पहिलो अङ्क (वर्ष १, अङ्क १, असार २०४५) र त्यसअघिको अङ्कलाई प्रारूप अङ्क भनिएको छ । वैशाख–जेठ महिनाको अवधिमा प्रारूप अङ्क प्रकाशित गरिएको थियो ।
‘युवामञ्च’ गोरखापत्र संस्थानका अन्य मासिक प्रकाशनमध्ये सबैभन्दा बढी पाठकले खोज्ने र रुचाइएको पत्रिकामा पर्छ । युवाको आवश्यकता, बौद्धिक तथा व्यावहारिक ज्ञानको खुराकका रूपमा ‘युवामञ्च’ लाई लिइन्छ ।
‘युवामञ्च’ मा युवाकै रुचिका विषयवस्तु मात्र समेट्ने नीति अख्तियार गरिएको थियो । ‘युवामञ्च’ मा सुरुमा प्रधान सम्पादक राख्ने चलन थियो, हाल सम्पादक रहन्छन् । यसको पहिलो प्रधान सम्पादक हुनुहुन्थ्यो– बालमुकुन्ददेव पाण्डे । कला तथा साजसज्जा शङ्करराज सिं सुवाल र छायाचित्रमा गोपाल चित्रकार रहनुभएको थियो । त्यस्तै प्रतिकपी मूल्य रु. २/– र वार्षिक मूल्य रु. २०/– थियो । सोही अङ्कमा पाँच सयदेखि दुई हजार २५० रुपियाँसम्मको विज्ञापन दररेट पनि उल्लेख गरिएको छ ।
युवामञ्च प्रकाशन पूर्व २०२५ साल जेठबाट साहित्यिक मासिक पत्रिका मधुपर्क प्रकाशित भइरहेको थियो । युवावर्गको समस्या र आवश्यकताप्रति सजग भई युवाजगत्कै हित, क्रियाकलाप, गतिविधि र विचारलाई प्रधानता दिने प्रयासमा ‘युवामञ्च’ शुभारम्भ गरिएको थियो ।
त्यसपछिका अङ्क केलाउँदा असोज महिनाको ‘युवामञ्च’ ‘सामाजिक सेवामा युवा’ विशेष, कात्तिक अङ्क ‘आदर्श साम्राज्ञी श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाह’ (रानीको जन्मोत्सव), मङ्सिर अङ्क ‘लागूव्यसन (दुव्र्यसन) र उपचार’ विशेष, पुसमा ‘एकता सूत्रको संयोजक– श्री ५ वीरेन्द्र’ (राजाको ४४ औँ शुभ जन्मोत्सव) विशेष अङ्क प्रकाशित भएका थिए ।
त्यस्तै माघ अङ्क ‘कला र साहसिक कार्य’, फागुनमा ‘युवा जोश जाँगर’ तथा चैतमा मुलुकको समसामयिक अवस्थालाई समेटेर ‘युवामञ्च विशेष’ प्रकाशित भएको थियो । विभिन्न विषयवस्तुमा केन्द्रित भएर विशेष अङ्क प्रकाशित गरी युवामञ्चप्रति युवावर्गलाई आकर्षित गर्ने महŒवपूर्ण प्रयास भएको देखिन्छ ।
सरकारी स्वामित्वको सञ्चार माध्यम गोरखापत्रले अशिक्षा, गरिबी र बढ्दो बेरोजगारीबाट प्रताडित युवाका समस्या बुझ्न र जान्न, युवावर्ग र सरकारबिच सेतुको भूमिका निर्वाह गरेको प्रस्ट छ । यस प्रयत्नमा युवामञ्चको प्रकाशनले होस्टेमा हैँसे गर्दै साथ दिइरहेको छ ।
प्रारम्भकालमा १४×२०.५ सेमीको साइजमा प्रकाशित हुँदै आएको यो पत्रिका हाल १८.५×२७.५ सेमीको साइजमा प्रकाशित हुँदै आएको छ । एक हजार प्रतिबाट प्रकाशन भई ६० हजार प्रतिसम्म युवामञ्च छपाइ भएको छ । यस मासिक प्रकाशनको दर्ता नं. ४/०४४/४५ रहेको छ ।
लोक कला, धर्म संस्कृति, भाषासाहित्य, वेशभूषा, रहनसहन, रङ्गमञ्च र विज्ञान प्रविधि जस्ता विषय त्यो बेला नै समेटिएको देखिन्छ । यसप्रकारका विषयलाई युवामञ्चले निरन्तरता दिँदै आएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका युवा, राम्रो इलम गरेर आत्मनिर्भर तथा समाजका लागि प्रेरणा र उदाहरण बनेका युवा, मननीय अभिव्यक्ति, युवाले गरेका बहादुरीका कथा, विश्वका प्रमुख घटना, गाउँखाने कथा, शब्दार्थ, सामान्य ज्ञानलगायत खोजमूलक सामग्री समेटेर युवामञ्चले पाठकमाझ छुट्टै पहिचान बनाउन धेरै समय लगाएन । बजारमा यस किसिमको एउटै पत्रिका भएकाले युवामञ्च रातारात लोकप्रियताको चुलीमा पुगेको थियो ।
त्यस्तै बौद्धिक खुराक, ज्ञान आर्जन र नयाँ विषयका बारेमा जानकारी लिन कोठेपद, पत्रमित्र, स्वास्थ्य तथा कानुनी सल्लाह, ज्ञान प्रतियोगिता, पाठकपत्र, प्रतिक्रिया, युवा विचारलगायतका आकर्षक, रचनात्मक र पठनीय सामग्री समेट्ने युवामञ्चको कार्य निरन्तर छ । यस किसिमका सामग्रीले युवा मात्र नभई अन्य पाठकलाई समेत आकर्षित गर्दै आएको कुरामा दुईमत छैन । युवामञ्चको बढ्दो लोकप्रियतासँगै यसलाई थप परिष्कृत गर्ने कार्य समय समयमा भएकै छ । आधुनिक प्रविधिको विकाससँगै युवामञ्च पनि डिजिटल तथा अर्काइभ अनलाइनमा उपलब्ध हुँदै आएको छ ।
युवामञ्चले खोजमूलक, समसामयिक साथै खेलकुद, साहित्यिक, ऐतिहासिक, वैज्ञानिक अनुसन्धान तथा आविष्कार, धार्मिक, राजनीतिक, सांस्कृतिक, स्वास्थ्य, उद्यमशीलतालगायत विषयवस्तुसँग सम्बन्धित सामग्री पस्किँदै आएको छ । यस्ता सामग्रीले युवामञ्चलाई युवाको एक ‘ब्रान्ड’ का रूपमा स्थापित गरेको छ ।
गोरखापत्र संस्थान सञ्चालक समितिले २०५७ सालमा ‘युवामञ्च’ का लागि प्रकाशन नीति तयार पारी कार्यान्वयनमा ल्याएको थियो । उक्त नीति अनुसार ‘युवामञ्च’ का पाठकहरू (लक्षित समूह) निर्धारण गरी विभिन्न सूचना सामग्री सङ्कलन र प्रस्तुत गरिँदै आएको छ । यस नीतिले पढेलेखेका मात्र नभई सामान्य साक्षर युवा पनि पाठकमा पर्ने भएकाले तिनले समेत सरल रूपमा बुझ्ने गरी उपयोगी सामग्री प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस अनुसार सहरीदेखि ग्रामीण क्षेत्रसम्म र स्वदेशदेखि विदेशमा रहेका नेपाली युवाको बौद्धिक तथा शैक्षिकस्तरबिचको विभिन्नतालाई ध्यानमा राखी सामग्री चयन तथा प्रस्तुति गरिँदै आएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै सबै वर्ग, क्षेत्र, समुदाय, जातजातिका भाषा, संस्कृति एवं रीतिरिवाजको जगेर्ना हुने खालका सामग्री प्रकाशन गरी ‘युवामञ्च युवावर्गको साझा मञ्च’ का रूपमा स्थापित गर्ने प्रयास जारी छ । यस आधारमा सामग्री प्रस्तुत गर्दा ‘युवामञ्च’ नेपालकै लोकप्रिय मासिक पत्रिका बनेको छ ।
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘युवामञ्चको ख्याति ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।