पुनर्जन्मको एक यस्तो विस्मयकारी घटना जसले दुई परिवारलाई दुबिधामा मात्र पारेन अपराधीलाई समेत जेलमा पुर्यायो । कुरा आजभन्दा ४३ वर्षपहिलेको हो । भारतको आगरानजिकै एक बच्चाको जन्म भयो । आमाबुवाले उसको नाम राखे तोरण सिंह र मायाले उसलाई टिटु भनेर बोलाउन थाले ।
टिटुको जन्मभन्दा तीन महिनापहिले सन् १९८३ अगस्त २८ मा आगराको मुख्य बजारमा रहेको आफ्नो पसलबाट घर फर्कंदै गर्दा सुरेश बर्माको हत्या भएको थियो । उता टिटुले पाँच वर्ष उमेर नपुग्दै विचित्रको व्यवहार देखाउन थाले । उनी बेला बेलामा वयस्क मानिस सरह कुरा गर्थे र आफ्नो घर त आगरामा भएको बताउँथे । हुँदा हुँदा उनी जन्मघरका आमाबुवा आफ्नो नभएका, आगरामा आफ्ना आमाबुवा, श्रीमती र बच्चा रहेको कुरा गर्न थाले ।
सुरुमा त टिटुका कुरालाई उट्पट्याङ र वाहियात मानियो तर उनी दिनहुँ नै वयस्क मानिसको जसरी कुरा गर्न थालेपछि भने आमाबुवालाई चिन्ता हुन थाल्यो । टिटुले दौँतरीसँग पनि खेल्न कम गरे र जतिबेला पनि आगरामा रहेको आफ्नो घर जाने जिद्दि गर्न थालेपछि परिवारले एक पटक सुटुक्क आगरा गएरै खोजीनिती गर्ने मनसाय बनायो ।
आगराको फतेहाबाद रोडमा रहेको एक शानदार कोलोनीमा सुरेश वर्मा बस्थे । उनको आमाबुवासँगै श्रीमती र दुई छोरा (सचिन र अमित ) थिए । आगराको मुख्य बजारमा सुरेशले ‘सुरेश रेडियोज’ नामको पसल चलाएका थिए । त्यो पसल आजसम्म त्यहीँ छ ।
एक दिन सुरेश पसलबाट राति आफ्नो फियट कारमा घर फर्किए । उनले घरको गेट खोल्न हर्न बजाए । त्यहीँ समयमा अँध्यारोमा लुकेका दुई जना हतियारधारीले नजिकैबाट उनीमाथि गोली प्रहार गर्छन् । एक गोली उनको दाहिने कन्चटमा लाग्छ र बायाँ काननजिकबाट बाहिर निस्कन्छ । सुरेशले तत्काल घटनास्थलमै ज्यान गुमाउँछन् ।
यो हत्या घटना हुँदा सुरेशका बच्चा सानै उमेरका भएकाले उनीहरूलाई घटना बारेमा त्यति थाहा छैन तर सुरेशकी श्रीमती उमाको मानसपटलमा त्यस दिनको घटना ताजै छ ।
सुरेशको हत्या भएको तीन महिनापछि सन् १९८३ डिसेम्बर १० मा आगराको ग्वालियर रोडबाट १३ किलोमिटरको दूरीमा रहेको एक गाउँमा महावीर प्रसाद र शान्तिदेवीको सन्तानका रूपमा टिटुको जन्म भयो । जब पाँच वर्ष पुग्न थाल्छन्, उनले आफ्नो पछिल्लो जीवनका बारेमा कुरा गर्न थाले । उनको आवाज पनि बच्चाको जस्तो नभई वयस्क र परिपक्व उमेरका पुरुषको जस्तो थियो । घरमा मायाले टिटु भनेर बोलाउँदा उनले “कसलाई टिटु भनेको म सुरेश वर्मा हुँ । मेरो आगरामा एक रेडियो पसल छ भन्थे ।”
त्यति मात्र कहाँ हो र “मेरी पत्नीको नाम उमा हो । हाम्रा दुई छोरा छन् ।” भनेर टिटुले आफ्ना कुरा र व्यवहारबाट सबैलाई अचम्भित पारे ।
टिटुले बारम्बार पुनर्जन्मका कुरा गरेपछि छिमेकी तथा आफन्त अशोक सिंहले घरपरिवारसँग सल्लाह गरी “एक पटक आगरा गएर हेरौँ न त, सत्य के हो थाहा भइहाल्छ भने ।”
टिटुका दाइ र एक जना सत्यतथ्य बुझ्न आगरा गए । त्यहाँ उनीहरूले मुख्य बजारमा ‘सुरेश रेडियोज’ पसल खोज्न थाले । अचम्म ! उनीहरूले केहीबेरमा टिटुले भनेको ‘सुरेश रेडियोज’ पसल फेला पारे । पसलमा एक महिला बसेकी थिइन् । उनले आफ्नो नाम उमा बताइन् । सबै कुरा टिटुले भनेको जस्तै भइरहेको थियो । टिटुका दाइले उमालाई सबै कुरा बताए । उमाले पनि ती सबै कुरा सही भएको भनिन् तर उनले सुरेशको पुनर्जन्ममा विश्वास गरिनन् । कसैले टिटुलाई सुरेश र उनको परिवार तथा घटनाका बारेमा बताएको कुरा उमाले गरिन् तर टिटु अहिलेसम्म गाउँबाट बाहिर नगएको र आफूहरू कसैलाई पनि सुरेशसँग भएको घटना बारेमा पहिले जानकारी नभएको कुरा टिटुका दाइले उमालाई बताए ।
रहस्यमय र अविश्वसनीय कुरा सुनेपछि गाउँमै गएर टिटुलाई भेट्ने कुरा गरिन् उमाले ।
अनि उमालाई लिएर टिटुका दाइ गाउँ फर्किए । यस बारेमा टिटुलाई केही जानकारी दिइएको थिएन । उनीहरू घर पुग्दा टिटुले उमालाई चिनिहाले र आफ्नी श्रीमतीसँग कुरा गरे जसरी उनीसँग कुरा गर्न थाले । श्रीमान्श्रीमतीसँगै बसे सरह टिटु उमासँगै बसे । उनले आगरामा आमाबुवा र छोराहरूको हालचाल सोधे । टिटुले आफू त यहाँ पाहुनाका रूपमा बसेको र आफूलाई आगरा जान नदिइएको समेत बताए ।
टिटुका कुरा सुनेर सबै तीनछक्क । उनको व्यवहार र कुराले सुरेशको पुनर्जन्म भएको विश्वास त्यहाँ उपस्थित सबैलाई भयो । तैपनि एक पटक टिटुलाई नै आगरा लगेर थप पुष्टि गर्ने विचारमा उनीहरू पुगे । आगरा जान कार चढ्न लाग्दा टिटुले “आफ्नो फियट कार खै, यो कार कहाँबाट ल्याएको ?” भनेर सोधे । वास्तवमा सुरेशको हत्या भएपछि उनको परिवारले सो फियट कार बेचेको थियो ।
कारमा बसेर टिटुले चालक सिटमा बसेर कार चलाउन खोजे । कहिल्यै कार नदेखेका टिटुले चालकको सहयोगमा केही परसम्म कार चलाए पनि ।
आगरामा टिटुलाई सिधै ‘सुरेश रेडियोज’ पसल नदेखाउने र नजिकैबाट अगाडि जाने कुरा भयो । त्यसै गरियो पनि तर पसलनजिकैबाट कार हुइँकिँदा टिटुले “कहाँ अगाडि गएको ? गाडी रोक । पसल पछाडि छुट्यो भने ।”
पसलभित्र गएर टिटुले एउटा ‘सोकेस’ देखाउँदै उमालाई सोधे “यो कहिले बनाएको ?” वास्तवमा त्यो ‘सोकेस’ सुरेशको हत्यापछि बनाइएको थियो ।
टिटु सबै परीक्षामा सफल भइरहेका थिए । सुरेशका छोरालाई उनले चिन्छन् कि नाइँ भनेर दुवै छोरालाई टोलका अन्य बच्चासँगै खेल्न पठाइयो तर टिटुले ती बच्चामा सुरेशका बच्चालाई चिनेर नाम लिएरै बोलाए । अब टिटु नै सुरेशको पुनर्जन्म भएको विश्वासमा दुवै परिवार पुगे । टिटु आगरामै बस्न जिद्दि गर्न थाले तर उमाले आफ्नो पति सुरेश हो भन्दै उनलाई गाउँको जन्मघर फर्काइदिइन् ।
भारतका सञ्चार माध्यमले टिटुका बारेमा थाहा पाए र त्यतिबेला सञ्चार माध्यमले यसलाई महत्वका साथ स्थान दिएका थिए । टिटुलाई पूर्वजन्मको सबै कुरा थाहा छ भने सुरेशलाई गोली हान्ने मान्छेका बारेमा पनि उनलाई थाहा हुनु पर्छ भनी सोधपुछ गरियो । टिटुले जानकारी दिए पनि ।
टिटुका बारेमा पारामनोवैज्ञानिक शोधकर्ताले समेत अनुसन्धान गरे । सुरेशको पुनर्जन्मलाई लिएर दिल्ली विश्वविद्यालयका डा. एनके चड्ढा र अमेरिकाको भर्जिनिया विश्वविद्यालयका डा. एन्टोनिया मिल्सले अनुसन्धान गर्दा एक विचित्रको तथ्य थाहा पाए । टिटुको दाहिने कन्चटमा एउटा दाग थियो । सुरेशको कन्चटको जुन भागमा गोली लागेको थियो टिटुको कन्चटको त्यही भागमा समान खालको दाग उनीहरूले देखे ।
साथै सुरेशको टाउको छेडेर बायाँ काननजिकबाट गोली बाहिर निस्केको ठाउँमा समेत टिटुको दाग देखियो । टिटु नै सुरेशको पुनर्जन्म भएकोमा अब प्रश्न रहेन तर सुरेशलाई गोली कसले हानेको थियो ?
उमादेवीका अनुसार सुरेशको कार एक पटक चोरी भएको थियो । प्रहरीको सहयोगमा चोरीको कार एक कबाडीको गोदामबाट बरामद गरियो । त्यसपछिका दिनमा आगरा क्षेत्रमा कोही कसैको कार चोरी भएमा सुरेशसँग सल्लाह लिन थालियो । त्यसरी चोरिएका प्रायः कार त्यही कबाडीको गोदामबाट बरामद हुने गथ्र्यो । त्यही कबाडीले दुश्मनी साँधेर आफ्नो (सुरेश) को गोली हानेर हत्या गरेको टिटुले बताए । गोली हान्दा आफूले उसलाई देखेको टिटुले बताएपछि प्रहरीले सो हत्याकाण्डको बन्द भइसकेको फाइल पुनः खोलेर छानबिन सुरु गर्यो । नभन्दै ती कबाडीले प्रहरीसमक्ष अपराध स्वीकार गरे र उनलाई जेल सजाय भयो ।
टिटु आफ्नो जन्मघरमै हुर्किए र उमा सुरेशको स्मृतिमा जीवन बिताउन थालिन् । टिटुले जन्मघरबाटै आफ्नो अध्ययन सुरु गरी उच्च शिक्षा हासिल गरे । हाल उनी हरिद्वारको पतञ्जली युनिभर्सिटीमा नेचुरोपेथी एन्ड योगिक साइन्स विभागको डिन छन् । त्यसअघि टिटु अर्थात् तोरण सिंहले बनारसको हिन्दु विश्वविद्यालयमा प्राध्यापकका रूपमा समेत काम गरेका थिए ।
–युवामञ्च