• १९ चैत २०८१, मङ्गलबार

शिवरात्रि र सेना

blog

नेपाली सेनाले महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । महाशिवरात्रिका दिन औपचारिक रूपमा सेना दिवस मनाउन थालिएको भने २०४७ सालपछि हो । २०४६ सालपछि तत्कालीन प्रधानसेनापति सच्चितशमशेर जबराले महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाउने परम्पराको सुरुवात गरेका हुन् । यसपालि २६२ औँ स्थापना दिवस मनाइएको छ ।

सेना दिवसमा राष्ट्रका विशिष्ट व्यक्तिको उपस्थिति अनिवार्य मानिएको छ । भगवान् शिवशक्तिको स्रोत भएकाले पनि महाशिवरात्रिका दिन सेना दिवस मनाउने चलन बसाएको बताइन्छ । 

डमरुसहितको त्रिशूल शिवशक्ति चिनाउने ‘अस्त्र’ हो । यो अस्त्र सेनाको षड्कोण आकारको लोगोको बिचभागमा राखिएको छ । कुनै चुनौतीपूर्ण कामको सामना गर्न जाँदा वा युद्ध लड्नुअघि विभिन्न शक्तिपीठमा पूजा गर्ने चलन रहेकाले पनि महाशिवरात्रिका दिन औपचारिक रूपमा सेना दिवस मनाउन थालिएको बताइन्छ । सेना स्थापनाको इतिहास पनि फागुन महिना (महाशिवरात्रिको सेरोफेरो)मा भएकाले यहीबेला सेना दिवस मनाउन थालेको भन्न सकिन्छ । 

विश्वका प्रायः देशले वर्षमा एक पटक युद्ध जितेको, आफ्नो देश स्थापना भएको वा स्वतन्त्र राज्यको मान्यता पाएको अवसरमा सेना दिवस मनाउने गरेको देखिन्छ । 

सेनाको स्थापना

१८१९ सालमा मकवानपुरसम्म पुगेको मीरा कसिम (बङ्गालका नवाब) को फौजलाई गोर्खा सेनाले पराजय गरेपछि प्राप्त भएका हातहतियार बन्दोबस्ती मिलाई फागुन महिनामा सैनिक कम्पनी (गुल्म ) खडा गरिएको थियो ।

सोही समयमा ‘एक व्यक्ति एक हतियार’ दिएर पहिलो पटक श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवानी र सबुज गरी सेनाको पाँच वटा कम्पनी स्थापना गरिएका थिए । यही सङ्गठित र व्यवस्थित सैनिक संरचनाको गठन नै वर्तमान सेना स्थापनाको जग मानिएको छ ।  

कम्पनी, गुल्म, गण, वाहिनी र पृतनालगायत संरचना रहेको सेनाले आफ्नो स्थापना दिवसमा विविध सैनिक कला, परेड, युद्धकौशल, सांस्कृतिक झाँकी, घोडचढी कला, हवाई प्रदर्शनी आदि कार्यक्रम देखाउने गरेको छ । 

 –युवामञ्च