अनिल पराजुली
हेटौँडा, चैत ५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बुधबार भएको दुर्घटनामा अटोचालक मनहरी गाउँपालिका–७, रमनटार निवासी ३४ वर्षीय अशोक लामा, अटोमा सवार मनहरी–६, नयाँबस्तीका २६ वर्षीय रोशन प्रजा तथा चितवनको राप्ति नगरपालिका–१, लोथर निवासी ५१ वर्षीया सीता कडेल घाइते भएका हुन् ।
घाइतेहरूको हात, टाउको, अनुहार र ढाडमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिनुभयो । उहाँहरूको मनहरी अस्पतालमा उपचार गरिएको छ । मनहरीबाट लोथरतर्फ जाँदै गरेको ना. २ ह. ५५०२ नम्बरको अटोलाई सोही दिशातर्फ जाँदै गरेको ग. २ च. ७१३८ नम्बरको बोलेरो गाडीले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी सहायक निरीक्षक बलिराम साहको नेतृत्वमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बोलेरो चालक लमजुङको मध्यनेपाल नगरपालिका–८ निवासी ३१ वर्षीय गणेश बोटे र उक्त सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।